एक बर्षको अवधिमा बैदेशिक रोजगारीमा गएका ११ जना म्याग्देलीको मृत्यु।

[ ध्रुवसागर शर्मा ] 

म्याग्दी:= गत आर्थिक वर्ष२०८१/८२ को एक बर्षको अवधिमा बैदेशिक रोजगारीमा गएका ११ जना म्याग्देलीको मृत्यु भएको छ । रोजगारीका लागि विभिन्न देशमा रहेका म्याग्देलीको कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना, हृदयाघात लगायत विभिन्न कारणबाट मृत्यु भएको हो ।

जसमध्ये ८ जनाको शब काठको बाकसमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षका अनुसार आर्थिक वर्ष २०८१/८२मा अनेक सपना बोकेर रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका ८ म्याग्देली बाकसमा फर्किएका हुन् ।

खाडीमुलुक साउदी अरबबाट २, यूएईबाट २,मलेसियाबाट १,कतारबाट १,ग्रिसबाट १,दक्षिण कोरियाबाट १ जनाको शव म्याग्दी ल्याइएको छ भने पोर्चुगल, रोमानिया र जापानको शब ल्याउने प्रक्रियामा रहेको केन्द्र प्रमुख प्रमिला पौडेलले बताउनुभयो ।

“प्रक्रियामा रहेको शब ल्याउन पहल भइरहेको छ, कानुनी प्रक्रिया पूरा गर्न बाँकी छ’”केन्द्र प्रमुख पौडेलले भन्नुभयो । काम छाडेर गैरकानुनी बसोबासको क्रममा दुर्घटनामा ज्यान गुमाउनेको शब ल्याउन केही ढिलाइ हुने र नेपाल सरकारले दिने क्षर्तीपुर्ती समेत पाउँदैनन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा २४ लाख रुपैयाँ परिवारले प्राप्त गर्ने भएकाले पनि गैरकानुनी रुपमा नबस्न विभिन्न माध्यमबाट सचेतनामुलक कार्यहरु गर्ने गरिएको केन्द्र प्रमुख पौडेलको भनाई छ ।

पारिवारिक भेटघाट,गैरकानुनी बाटोबाट र कम्पनी छोडेर बसेकोका मृतकसँग श्रम स्वीकृति नभएकालाई म्याग्देलीको साझा संस्था मोना र अन्य नेपाली संघसंस्थाले समेत आर्थिक सहयोग जुटाएर शब पठाउने गरेका छन् । आव ०८०/८१ मा ८ जना म्याग्देलीले ज्यान गुमाएकोमा ६ जनाको शब परिवारको जिम्मा लगाइएको थियो ।