प्याट्रिक डे वाइल्डले पदबाट दिए राजीनामा, महिला फुटबल टिमको भविष्य अन्योलमा।

काठमाडौं := नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार उहाँले केही दिनअघि इमेलमार्फत् राजीनामा पत्र पठाउनुभएको हो ।

एएफसी महिला एसियन कप छनोटका क्रममा उज्वेकिस्तानमा नेपाली टिमसँग घटेको घटनाक्रमबारे स्पष्टीकरण माग्दै एन्फाले वाइल्डलाई पत्र पठाएको थियो। सोही पत्रको जवाफ स्वरूप उहाँले राजीनामा बुझाएको एन्फा स्रोतले जनाएको छ ।

हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ विदेशमा रहेकाले वाइल्डको राजीनामाबारे औपचारिक निर्णय गर्न बाँकी रहेको बताइएको छ । छनोट प्रतियोगिताका दौरान कप्तान चयनमा देखिएको विवादले टिम व्यवस्थापन र मुख्य प्रशिक्षकबीच मतभेद चुलिएको थियो ।

प्रशिक्षक वाइल्डले उज्वेकिस्तानबाटै एक अन्तर्वार्तामा एन्फाको प्रणालीमा असन्तुष्टि जनाउँदै ‘एन्फा नसुध्रिए नेपाल नफर्कने’ बताउनुभएको थियो । त्यसयता उहाँ आफ्नै देश बेल्जियममा हुनुहुन्छ ।

उता, नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर तथा सहायक प्रशिक्षकहरूले पत्रकार सम्मेलन गर्दै कप्तान चयनलगायत विवादमा वाइल्डलाई नै दोषी ठहर गरेका थिए ।

एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाले पनि उज्वेकिस्तानसँग ३–३ को बराबरी खेलेपछि टाइब्रेकरमा चुक्दै प्रतियोगिताबाट बाहिरिएको थियो । अब महिला टिमको नेतृत्व कसले गर्ने भन्ने विषयमा एन्फाले चाँडै निर्णय लिने अपेक्षा गरिएको छ ।