जोहोरबारु:= मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”ले जोहोरबारुमा अवैध रुपमा सञ्चालित विभिन्न पसलहरूमा छापामारी गरि ३५ जना विदेशीहरूलाई पक्राउ गरेको छ।
जोहोर राज्य अध्यागमन निर्देशक दातुक मोह्द रुज्दी मोह्द दारुसका अनुसार पक्राउ पर्नेमा १८ देखि ५५ वर्ष उमेर समूहका ती विदेशी कामदारहरू रहेको बताए। “हामीले सार्वजनिक जानकारीका आधारमा छापा मारेका थियौं, जसअनुसार केही विदेशीहरू बिना कागजात काम गरिरहेका थिए,” उनले बिहीबार (जुलाई १७) जारी गरिएको विज्ञप्तिमा उल्लेख छ्।
पक्राउ परेका विदेशी कामदारहरू इन्डोनेसिया, म्यानमार, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, भारत र अफगानिस्तानका हुन्। तीमध्ये ६ जना इन्डोनेसियन महिला रहेको बताइएको छ। रुज्दीका अनुसार, अनुसन्धानका लागि ५ जना रोजगारदाता मलेसियन नागरिकहरूलाई पनि नोटिस दिइएको छ।
पक्राउ परेका विदेशीहरूलाई सेतिया ट्रोपिका अध्यागमन डिपोमा लगिएको छ, जहाँ उनीहरूका विरुद्ध वैध पास वा अनुमति बिना प्रवेश, बसोबास अवधि नाघ्ने, र सामाजिक भ्रमण पासको दुरुपयोग जस्ता अभियोगमा अनुसन्धान भइरहेको जनाएको छ।




















