चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक (भिडियो सहित)

काठमाडौं := चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोकाको कथावस्तु समेटिएको छ । विवाहको दृश्यसँग सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया जाने सपना केन्द्रमा छ । बुबालाई मनाउँदाको पारिवारिक विवाददेखि काठमाडौं आइपुगेपछि आफ्नै गाउँलेद्वारा ठगिएको प्रसंगसम्मको कथा टिजरमा देखाइएको छ ।

सामान्य जानकारीविनै तय गरिएको गन्तव्यमा पुग्न कति कठिन हुन्छ भन्ने यथार्थ टिजरमार्फत उजागर गरिएको छ। परिवारको दुःख कम गर्ने अभिप्रायले कोरिया जान निस्कनुभएका विजय काठमाडौंमै अलमलिँदा उहाँको सपना पनि दिशाविहीन बनेको देखिन्छ । यसैबीचमा जन्मिएको प्रेम र त्यसले ल्याएको पीडा तथा मिठास पनि टिजरमा झल्काइएको छ ।

विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्नुभएको छ भने पटकथा, संवाद तथा कथा भानुभक्त ढकालले लेख्नुभएको हो । पेपरक्लिप ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ ।

कार्यकारी निर्मातामा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुनुहुन्छ । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी छ । टिजर सम्पादन शाहिल खानले गर्नुभएको हो भने सुप्रिम पराजुलीले कलर, सुनील क्षेत्रीले कोरियोग्राफी, चुल्ठे काजीले एक्सन निर्देशन सम्हाल्नुभएको छ ।

अल टाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो चलचित्र हो । हालैमात्र राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा विजय बराललाई ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेता तथा भरत रेग्मीलाई उत्कृष्ट सम्पादनको पुरस्कार प्रदान गरिएको थियो । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते देशभर रिलिज हुँदैछ । चलचित्रको वितरण जिम्मा गोविन्द शाहीको काफिया फिल्मस्ले लिएको छ ।

हेर्नुहोस् टिजर–