मलेसियामा अवैधानिक कामदारलाई काममा लगाउने हजारौं रोजगार कम्पनीलाई जरिवानासहित कारवाही।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले मलेसियामा कागजात नभएका अवैधानिक आप्रवासी कामदारलाई काममा लगाउने र लुकाएको आरोपमा हजारौं रोजगारदाता कम्पनीको मालिक हरुलाई पक्राउ गरेको छ। मलेसियन अध्यागमन विभाग “इमिग्रेशन”ले कागजात नभएका आप्रवासीलाई काममा राखेको वा आश्रय दिएको आरोपमा १ हजार ५ जना रोजगारदातालाई पक्राउ गरेर कारवाही गरेको हो ।

विभागका महानिर्देशक दातो जकारिया बिन शाबानका अनुसार पक्राउ पर्नेहरूमा रेस्टुरेन्ट, कारखाना र खुद्रा पसलेहरूसहित विभिन्न क्षेत्रका रोजगारदाता संलग्न छन्। जसमध्ये धेरैजसो मलेसियालीहरू छन्, जसले वैध कागजातबिना विदेशी नागरिकलाई आश्रय दिएको पाइएको छ ।

‘जुलाईसम्म हामीले हाम्रा प्रमुख कार्यसम्पादन सूचकहरूको ७० प्रतिशत हासिल गरिसकेका छौं र म विश्वस्त छु कि हामी वर्षको अन्त्यसम्ममा हाम्रो लक्ष्य पार गर्नेछौं,’ उनले एक कार्यक्रममा पत्रकारहरूलाई भने । उनले सोही अवधिमा अध्यागमन विभागले ६ हजार ९ सय १३ राष्ट्रव्यापी अपरेसनहरू सञ्चालन गरेको, ९७ हजार ३ सय २२ विदेशी नागरिकको स्क्रिनिङ गरेको र २६ हजार ३ सय २० शंकास्पद व्यक्तिलाई अध्यागमन अपराध गरेको आरोपमा पक्राउ गरिएको बताए ।

उनले कार्यान्वयनलाई निरन्तर तीव्र बनाइने र कागजात नभएका आप्रवासीहरूसँग कुनै सम्झौता नगरिने बताए ।विभागले देशभरका २ सयभन्दा बढी पहिचान गरिएका हटस्पटहरूको पनि निगरानी गरिरहेको छ, जसमा दुर्गम र ग्रामीण क्षेत्रहरू पनि समावेश छन् । उनले गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारहरूको धरपकड तीव्र बनाउँदै कानुन उल्लंघन गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । Source : the star