इण्डियन प्रिमियर लिग (आइपिएल): शिर्ष दुई स्थानको लागि चार टोली भिड्दै।

नयाँदिल्ली:= इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को प्लेअफ पुग्ने चार टिमको टुंगो लागिसकेको छ तर को अगाडि र को पछाडि रहने टिमबारे भने स्पष्ट चित्र आएको छैन । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाब किंग्स र मुम्बई इण्डियन्स प्लेअफ पुग्न सफल भएका छन् ।

अबको होड भनेकै शीर्ष दुई स्थानका लागि हो । शीर्ष दुईमा रहन सक्यो भने टिमको फाइनल खेल्न सक्ने सम्भावना बढी हुन्छ । त्यो भनेको पहिलो क्वालिफायर भयो । शीर्ष चार टिमबीचको अन्तर निकै कम छ। मुम्बई अहिले चौथो स्थानमा छ । मुम्बईसँग पनि शीर्ष स्थान हात पार्न सक्ने अवसर छ ।

आइतबार कोलकाता र हैदराबाद, सोमबार मुम्बई र पञ्जाब तथा मंगलबार लखनउ र बैंगलुरु भिड्दै छन् । क्वालिफायर वान र टु मात्र होइन, इलिमिनेटरमा पनि कडाभन्दा कडा प्रतिस्पर्धा चल्ने निश्चित छ । मे २९ देखि प्लेअफको खेल हुनेछ ।

१३ खेल खेलेको आरसिबीको १७ अंक छ भने उसको नेट रनरेट प्लस ०.२५५ पुगेको छ । अर्कोतर्फ, पञ्जाब किंग्सको १२ खेलपछि अझै १७ अंक छ तर उसको नेट रनरेट प्लस ०.३८९ छ । यस्तो अवस्थामा पञ्जाब दोस्रो स्थानमा छ ।

यसैबीच, गुजरातको टोली १८ अंकसहित पहिलो स्थानमा छ र उसको एक खेल बाँकी छ । अब यदि पञ्जाबले आफ्ना दुवै खेल जित्यो भने उसको २१ अंक हुनेछ र शीर्ष स्थानमा रहनेछ । साथै, गुजरातले अधिकतम २० अंक र आरसिबीले अधिकतम १९ अंक पुर्‍याउन सक्छ ।

यसैबीच, आइपिएल क्रिकेटअन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरु(आरसिबी)लाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलुरु १९ दशलमब ५ ओभरमा १८९ रनमात्रै बनाउन सक्यो ।

बैंगलुरुका लागि फिल साल्टले सर्वाधिक ६२ रन बनाउँदा विराट कोहलीले ४३ रनको योगदान गर्नुभयो ।सनराइजर्सका बलर प्याट कमिन्सले ३ विकेट लिँदा इशान मालिंगाले २ विकेट झार्नुभयो । यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनाएको थियो ।

सनराइजर्सका लागि इशान किशनले सर्वाधिक ९४ रन बनाउनुभएको थियो भने अभिषेक शर्माले ३४ रन बनाउनुभयो । प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौं स्थानमा रहेको छ । हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ । बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ । एजेन्सी