काठमाडौं := क्रिकेटर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय करार सम्झौतामा नबस्ने भएका छन्। उनले आज सामाजिक सञ्जालमा उक्त जानकारी दिएका हुन्।उनी क्यानको करारमा “ए” क्याटोगोरीमा थिए। उनले मासिक रु.१ लाख रुपैयाँ पाउँदै आएका थिए।
क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए ।
‘धेरै सोचविचार गरेपछि, मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट टाढा जाने कदम होइन—यो व्यक्तिगत र व्यावसायिक रूपमा विकसित हुनेतर्फको कदम हो।’ उनले भनेका छन् ।
साथै उनले आफ्नो यात्राभरि क्यानले गरेको निरन्तर सहयोगका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल क्रिकेट र आफ्नै विकासलाई यो स्थानमा पुर्याउन क्यानको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् । ‘मेरो देशप्रतिको मेरो वफादारी, र खेलप्रतिको मेरो जोश, सधैं मैले गर्ने सबै कुराको मूलमा रहनेछ’, उनले लेखेका छन्।




















