२५६९औँ जयन्ती शान्तिको कामना गर्दै आज देशदेखि विदेशसम्म बुद्धजयन्ती पर्व मनाइँदै।

काठमाडौं := प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज (सोमबार) मनाइँदै छ । भगवान् गौतम बुद्धको २५६९औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। नेपालीहरु बसोबास गर्ने मलेसियालगायत विदेशमा पनि बुद्ध जयन्ती मनाउने गर्दछ्न। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरुद्वारा परम्परादेखि हुँदै आएको पूजालगायत कार्य गरेर बुद्धजयन्ती मनाइँदै छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती पर्व विशेषरूपमा मनाइँदै छ ।ईशापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभएको थियो । उहाँ २९ वर्षको उमेरमा दरबार छोडी दुःख निवारणका लागि निस्कनुभएको थियो । ईशापूर्व ५२९ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बोधगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले ज्ञान दिनुभएको छ ।

यसलाई बुद्धले दिएका आर्य अष्टांगिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टांगिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि पर्छन् । यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई ‘एसियाका तारा’ उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । विसंं २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।