मलेसियामा अबदेखि विदेशी कामदारले पाँचवटा क्षेत्रमा रोजगारी परिवर्तन गर्न पाउने।

क्वालालम्पुर(मलेसिया):= मलेसियाका मानव संसाधन मन्त्री स्टीभन सिमले नयाँ कार्यान्वयन हुने दिशानिर्देशअनुसार विदेशी कामदारहरूले अबदेखि केवल पाँचवटा औपचारिक क्षेत्रमा आफ्नो र रोजगारदाता कम्पनीको समन्वयमा रोजगारी परिवर्तन गर्न पाउने बताएका छन्।

उक्त पाँच औपचारिक क्षेत्रहरूमा उद्योग (manufacturing), निर्माण (construction), कृषि (agriculture), बगैचा (plantation) र सेवा क्षेत्र (services) समावेश छन्।

“दिशानिर्देशमा कामदारले रोजगारी परिवर्तन गर्न पाउनुपर्ने न्यूनतम अवधि, कामदारको सहमति, र संलग्न क्षेत्रहरूको विवरण समेटिनेछ,” शुक्रबार (मे ९) सामाजिक सुरक्षा संस्था (PERKESO) को मुख्यालयमा पत्रकारहरूलाई जानकारी दिँदै सिमले बताए।

उनका अनुसार, यस निर्णयले देशभित्रको श्रम माग सम्बोधन गर्न मद्दत गर्नेछ र नयाँ विदेशी कामदारहरू ल्याउने आवश्यकतालाई कम गर्नेछ। हालसम्म विदेशी कामदारहरूलाई आफै कार्यरत रहेको एउटै क्षेत्रमा मात्रै रोजगारदाता परिवर्तन गर्न अनुमति दिइँदै आएको थियो।

“नयाँ प्रणालीले कामदारलाई अनौपचारिक रूपमा अन्य क्षेत्रमा नियुक्त गरिने कार्यलाई रोक्न सहयोग पुर्‍याउनेछ र कामदारको संख्या तोकिएको कोटाभन्दा नबढोस् भन्ने सुनिश्चित गर्नेछ,” उनले थपे।

यसअघि बिहीबार (मे ८) गृह मन्त्री दातुक सेरी सैफुद्दिन नासुतीओन इस्माइलले विदेशी कामदारहरूले फरक–फरक क्षेत्रमा पनि रोजगारदाता परिवर्तन गर्न पाउने निर्णय सरकारको तर्फबाट सार्वजनिक गरेका थिए। यो निर्णय १३औँ विदेशी कामदार व्यवस्थापन संयुक्त समितिको बैठकमा गरिएको हो, जसको अध्यक्षता सैफुद्दिन र सिमले संयुक्त रूपमा गरेका थिए।

यसअघि सरकारले कम्पनी पुनःसंरचना, बन्द, विस्तार वा श्रम विभाग अन्तर्गत समितिको अनुमतिका आधारमा मात्रै एउटै क्षेत्रमा काम परिवर्तन गर्न अनुमति दिंदै आएको थियो। मन्त्री सिमले यस निर्णय घरेलु कामदारहरू (domestic workers) मा लागू नहुने पनि स्पष्ट पारे, किनभने उनीहरू अनौपचारिक क्षेत्र अन्तर्गत पर्छन्।

रोजगारदाता कम्पनी परिवर्तन कसरी गर्ने भन्ने बारे विस्तृत निर्णय हुन , योजना बनाउन र कार्वानयन गर्ने बान्ने बारे भने ठोस काम बाँकी रहेको छ ।

समाचार स्थानीय सञ्चार माध्यमबाट लिइएको हो ।