क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले अब यहाँ कार्यरत विदेशी कामदारहरूलाई विभिन्न क्षेत्रहरूमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ। यो जानकारी मलेसियाका गृह मन्त्री दातुक सेरी सैफुद्दिन नासुतीओन इस्माइलले दिएका हुन्।
गृह मन्त्री सैफुद्दिनले मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङसँग संयोजनमा बिहीबार (मे ८) सम्पन्न १३औँ संयुक्त कार्य समिति बैठकपछि उक्त निर्णय गरिएको बताएका हुन्।
यसअघि सरकारले विदेशी कामदारहरूलाई केवल एउटै क्षेत्रमा सीमित रहेर मात्र रोजगारदाता परिवर्तन गर्न अनुमति दिँदै आएको थियो, त्यो पनि कम्पनी पुनःसंरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानी समितिको स्वीकृति जस्ता सर्तहरू पूरा गरेपछि मात्र।
“यस नीतिगत परिवर्तनले सरकार, रोजगारदाता र कामदार सबैका लागि लाभदायक हुनेछ,” सैफुद्दिनले बैठकपछि जारी गरिएको वक्तव्यमा उल्लेख गरेका छन्।उनका अनुसार यो निर्णय अन्तर्राष्ट्रिय श्रम संगठनहरूले सिफारिस गरेको अभ्याससँग मेल खाने र अन्य विकसित राष्ट्रहरूले पनि अपनाइसकेको प्रणाली हो।
सैफुद्दिनले थप जानकारी दिँदै बैठकमा आप्रवासन विभागको तर्फबाट प्रस्तुत गरिएको विदेशी कामदारहरूको चेक आउट मेमो (COM) व्यवस्थापनलाई सुदृढ पार्ने प्रस्ताव पनि स्वीकृत गरिएको बताए।
“आजको निर्णयअनुसार अब रोजगारदाताहरूले विदेशी कामदारहरूको देशबाट निर्गमन दर्ता व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय नाका (एक्सिट पोइन्ट) मा अनिवार्य उपस्थिति जनाउनु पर्नेछ, जस्तै उनीहरू देश प्रवेशका बेला गर्दछन्,” उनले स्पष्ट पारे।




















