एजेन्सी := अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध समाप्त गरेमा रूसलाई सन् २०२६ को फिफा विश्वकपमा सहभागी गराउनुपर्नेे बताएका छन्। विश्वकप आयोजक कमिटीको पहिलो बैठकमा ट्रम्पले युक्रेनमाथिको युद्ध समाप्त गरेमा रूसलाई विश्वकपमा सहभागी गराउनुपर्नेमा जोड दिएका हुन्। सो बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सहभागी थिए।
सन् २०२२ मा युक्रेनमाथि आक्रमण थालेदेखि नै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले रूसी फुटबल संघलाई प्रतिबन्ध लगाउँदै आएको छ। ट्रम्पले विश्वमा शान्ति स्थापना हुन्छ भने अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपमा रूसलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिएका थिए।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ। विश्वकपमा कुल एक सय चार खेलमध्ये फाइनलसहित ७८ वटा खेल अमेरिकामा आयोजना हुँदैछ। जुन खेल विभिन्न १२ वटा स्टेडियममा सञ्चालन हुनेछ। प्रतियोगिता तीन देशका १६ सहरमा आयोजना हुनेछ। यस विश्वकपमा पहिलो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। यसअघिका संस्करणमा ३२ राष्ट्रले मात्रै प्रतिस्पर्धा गर्दै आएका थिए।
‘फिफा र यूईएफएले रूसी फुटबलमाथि प्रतिबन्ध लगाएको छ। युक्रेनमाथिको हमला रोकेर रुस शान्ति स्थापनामा सहयोगी हुन चाहन्छ भने विश्वकप उसका लागि प्रोत्साहन हुनेछ’, ट्रम्पले भनेका छन्, ‘अहिले युद्धमा एक सातामा पाँच हजार मानिसले ज्यान गुमाइरहेका छन्। यो युद्ध रोकेर शान्ति स्थापना हुन्छ भने हामी लचिलो हुनु पर्दछ।’
ट्रम्पले यसका लागि पहलकदमी थाल्न फिफा अध्यक्ष इन्फान्टिनोलाई विशेष आग्रह गरेका थिए। ‘रूसलाई विश्वकपमा सहभागी गराउने कि नगराउने भन्ने सम्पूर्ण अधिकार फिफासँग छ। युद्ध समाप्त हुन्छ र विश्वमा शान्ति छाउँछ भने हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गर्नुपर्छ’, ट्रम्पले भनेका छन्, ‘यो अभियानमा फिफा अध्यक्ष इन्फान्टिनोलाई अग्रसरता लिन हार्दिक आग्रह गर्दछु।
किनभने खेलकुद एउटा प्रतियोगिता मात्रै होइन, यो अनुशासन, गतिशीलता, एकता, भ्रातृत्व र शान्तिको पनि प्रतिक हो।’ ट्रम्पले गत नोभेम्बरमा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएलगत्तै युक्रेनमा युद्ध समाप्त गर्ने घोषणा गरेका थिए। त्यसयता उनले त्यसलाई प्राथमिकता दिँदै आएका छन्।