सडककाे जमिन भासिएर हराएको गाडी खोज्न आएका भूगर्भविद्को टोली गाडी नभेटिएर काठमाडौं फर्किए।

हेटौंडा:= भासिएर हराएको गाडी खोज्न हेटौंडा पुगेको भूगर्भविद्को टोली अनुसन्धान नसकी काठमाडौँ फर्किएको छ । गत शुक्रबार हेटौंडा उपमहानगरपालिका –१६ र १७ को सिमानामा पर्ने गैरीगाउँकाे कच्ची सडककाे जमिन भासिएर गाडी बेपत्ता भएपछि खानी तथा भूगर्भ विभागको टोली मंगलबार अध्ययनका लागि घटनास्थल आएकाे थियाे ।

उक्त क्षेत्रको अध्ययन अनुसन्धान गर्न हेटौंडा उपमहानगरपालिकाको आग्रहमा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणि खनाल र खानी तथा भूगर्भ विभागका ल्याव टेक्निसियन अमर बहादुर थापा हेटौंडा आएर घटनास्थलमा अध्ययन गर्नुभएको हो। मंगलबार र बुधबार दिनभर पहिलो चरणको अध्ययन गर्दा पनि गाडीको अवस्था पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टोली शुक्रवार काठमाडौँ फर्किएको छ।

भूगर्भविद् अधिकारीको नेतृत्वमा विभागको टोलीले घटनास्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका विषयमा अध्ययन गरेको थियो ।  अध्ययन टोलीले गाडी भासिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेकाे थियाे। तर, गाडीको अवस्था भने पत्ता लाग्न सकेको छैन ।

भूगर्भविद् अधिकारीका अनुसार यकिन अहिले यहि भन्न नसकिने भएपनि त्यहाँ कुनै हेभी र स्ट्रोङ म्याग्नेटिब फिट भएको वस्तु भएको हुनसक्ने अनुमान गरिएको छ । टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोगले अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरिएको भएपनि उक्त बस्तुको कति गहिराइबारे पत्ता लागेको छैन ।

भूगर्भविद् अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुना ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने बताउनु भयो। गाडी दबिएको खाल्टोको जमिनबाट निरन्तर पानी आइरहेको अवस्था छ। पहिलो चरणको अध्ययन सकारात्मक रहेको रकाठमाडौँबाट केही दिनमै फर्किएर दोस्रो चरणको अध्ययन थालिने भूगर्भविद् अधिकारीले बताउनु भयो ।

गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी कच्ची सडकको हिलोमा फसेको र केही बेरमै जमिनमुनि बेपत्ता भएको थियो ।  सडक नजिकै स्थानीय हरि राईले बोरिङको लागि खनेको पानीसहितको खाल्डोमा गाडी डुबेको थियो ।  गाडी धनी र उनका सहयोगी हामफालेर जोगिन सफल भएका थिए ।