काठमाडौं := मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको बहुप्रतिक्षित पार्टी एकता तत्कालका लागि अलमलमा परेको छ । वैशाख १७ गते पार्टी एकताको घोषणा गर्न तय गरिएको भए पनि नाउपाका संरक्षक रेशम चौधरीको नाटकीय पक्राउ र रिहा, साथै अध्यक्ष रञ्जिता श्रेष्ठको अस्वस्थता र दुवै दलका केही आन्तरिक तयारी अधुरो रहँदा पार्टी एकता अनिश्चित बनेको हो ।
बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा तयारी पूरा भई पार्टी एकताको घोषणा हुन लागेको समयमा रेशम चौधरीलाई अदालतको ‘फेक’ पत्रका आधारमा प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेपछि समारोह अवरुद्ध भएको थियो । उहाँलाई डिल्लीबजार कारागारमा साढे पाँच घण्टा राखिएपछि रिहा गरियो । तर, यस घटनाले दुवै दलबीचको एकतामा गम्भीर असर पार्यो ।
रेशम रिहा भएपछि बानेश्वरस्थित सनराइज क्याफेमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ जनमत पार्टीका उपाध्यक्ष, प्रवक्तालगायत नेताहरूको उपस्थिति थियो । रेशमले केही दिनभित्रै एकता हुने आश्वासन दिनुभएको थियो । तर, पार्टी एकता घोषणाको मिति स्थगन भएपछि हालसम्म दुई दलबीच औपचारिक संयुक्त बैठक बसेको छैन । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ बिरामी भएपछि पनि प्रक्रिया थप लम्बिएको छ ।
‘एकता हुने त हो तर तत्काल होइन’ भन्ने धारणा दुवै पार्टीका नेताहरूले सार्वजनिक गरेका छन् । जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहका अनुसार, वैशाख १७ को घटना आकस्मिक भएको र केही समयपछि एकता सुनिश्चित गरिनेछ । नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले भने रेशमको पक्राउको रहस्य पत्ता लगाएपछि मात्र एकता घोषणा गरिने जनाउनुभयो ।
दुवै दलबीच एकीकरणपछिको पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहने सहमति भइसकेको छ । एकीकृत पार्टीको चुनाव चिहृन नाउपाले प्रयोग गर्दै आएको ढकिया रहनेछ भने झण्डामा कलेजी रङको आयातकारको बीचमा सेतो ढकिया राखिनेछ । संगठनात्मक ढाँचा पनि लगभग तय भइसकेको छ ।
एकतापछि गठन गरिने ७०० सदस्यीय केन्द्रीय समितिमा दुवै पक्षबाट ५०-५० प्रतिशत सहभागिता हुनेछ । ५१ सदस्यीय कार्यसम्पादन समितिमा जनमत र नाउपाबाट २५-२५ जना तथा संरक्षकका रूपमा रेशम चौधरी रहनेछन् । २५ सदस्यीय सचिवालयमा पनि जनमत र नाउपाबाट १२-१२ जना र रेशम चौधरी सदस्य रहने सहमति भएको छ ।
यद्यपि, नाउपाले आफ्ना प्रतिनिधिको नाम टुंग्याइसकेको भए पनि जनमतले भने नामको टुंगो लगाउन सकेको छैन । जनमतले अध्यक्ष (डा. सिके राउत), सहअध्यक्ष (रञ्जिता श्रेष्ठ) र संरक्षक (रेशम चौधरी) मात्र घोषणा गरेर अन्य संरचनाको नाम पछि टुंग्याउने प्रस्ताव राखेको थियो, जुन विषयमा नाउपाले असहमति जनाएको छ ।