काठमाडौं := १५औं महाधिवेशनको लागि नेतृत्वलाई दबाब बढाउन नेपाली कांग्रेसका सात नेताहरूको बैठक बसेको छ । पूर्वमहामन्त्री डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार प्रभावशाली सात नेताहरूको बैठक बसेको हो। प्रभावशाली सात नेतामा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा.प्रकाशशरण महत र गोपालमान श्रेष्ठ रहनुभएको छ ।
यसअघि सिंह, निधि र शशांकले मात्रै आलोपालो भेटघाट गर्दै आउनुभएको थियो । त्यसमा पछि सिटौला, गच्छदार र श्रेष्ठ थपिनुभएको हो । देउवालाई दबाब बढाउने यो समूहमा डा.प्रकाशशरण महत पनि थपिनुभएको छ । उहाँ कुनै समय देउवाका विश्वासपात्र नेता मानिन्नुहुन्छ । महत कांग्रेसका प्रवक्ता हुनुहुन्छ । सभापति देउवा उपचार र पारिवारिक भेटघाटका लागि थाइल्याण्डमा रहनुभएका बेला भएको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
विधानतः सभापति शेरबहादुर देउवाले अब १५औं महाधिवेशनमा दाबेदारी गर्न मिल्दैन । यसैले देउवालाई सहयोग गर्दै आएका सात नेताहरूले आफूहरूमध्येबाटै नेतृत्व गरेर जानेगरी परिस्थिति बनाउन सभापति देउवालाई दबाब बढाउने रणनीति बनाएका छन् । केही समयअघि यी सबै प्रभावशाली नेताले देउवालाई भेट्दै आफूहरूमध्येबाटै नेतृत्वको लागि एक जनालाई अगाडि सार्न दबाब दिएका थिए । तर, देउवाले महाधिवेशन नजिक आएपछि निर्णय लिने बताउनुभएको थियो ।
आगामी महाधिवेशनमा डा.शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिको दाबेदार देखिनुभएको छ । संस्थापनतर्फ उपसभापति पूर्णबहादुर खड्काको पनि दाबेदारी छ । तर, यी तिनैजना नेतालाई रोकेर यही समूहबाट एकजना अगाडि बढ्नुपर्नेगरी सात नेताले पार्टीमा दबाब बढाउन खोजेको देखिन्छ । यो छलफललाई लोकतन्त्र दिवसको अवसरमा आयोजित चियापान पनि भनिएको छ ।
कांग्रेस नेताहरू बीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्र नारायण निधिपुत्र विमलेन्द्रबीच लञ्च मिटिङ आयोजनासहित छलफल चल्दै आएको थियो । चैत १६ मा विमलेन्द्र निवासमा तीन नेताका अतिरिक्त पूर्वउपसभापतिहरू गोपालमान र गच्छदार, नेता सिटौला पनि सहभागी हुनुभएको थियो ।
त्यसदिन नेपाली लेखक संघको महाधिवेशनमा सहभागी हुन लुम्बिनी पुग्नुभएका पार्टी प्रवक्ता डा.महत सहभागी हुनुभएको थिएन । नियमित स्थितिमा २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, सभापति देउवाले पहिले आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै महाधिवेशन गर्ने मानसिकता बनाएको नेताहरू बताउँछन् ।
यतिबेला कांग्रेसभित्र केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीको १५औं महाधिवेशनको विषयलाई लिएर विवाद छ । जसका बारे नेताहरू विभाजित छन् । केही नेताहरूले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् भने केहीलाई सच्याएर जानुपर्ने बताइरहेका छन् ।
सरकारको विषयमा उठेको विवादमा कांग्रेसले वैशाख ४ मा पार्टीभित्र समीक्षात्मक छलफल गरेको थियो । जहाँ खास निष्कर्ष ननिस्किए पनि नेताहरूले एक स्वरमा सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए । जसलाई निरूपण गर्न सभापति देउवाले बुधवारदेखि केन्द्रीय समिति बैठक बोलाउनुभएको थियो । यद्यपि, उहाँ स्वयं उपस्थित हुन नसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।




















