काठमाडौं := वर्षाको कारण घरेलु टोली हङकङ विरुद्धको खेल रद्द हुँदा नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा पुगेको छ। शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे । नौ ओभरको खेल चलिरहँदा वर्षाको कारण रद्द भएको हो।
हङकङले तीन विकेट गुमाउँदै ६८ रन बनाइसकेको थियो। तर, वर्षाका कारण खेल अघि बढ्न नसक्दा दुवै टोलीले अंक बाँडे। योसँगै नेपालले अपराजित रहँदै फाइनलमा स्थान बनायो। शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट पाँच अंक जोड्यो।
अब नेपालले उपाधिका लागि कुवेतसँग खेल्नेछ। कुवेत समूह उपविजेता हुँदै फाइनलमा पुगेको हो। लिग चरणमा नेपालले कुवेतसँग ६ विकेटको जित हात पारेको थियो। यी दुईबीचको खेल आइतबार हुनेछ। हङकङ र कतार नै अब तेस्रो स्थानका लागि खेल्नेछन्। नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।




















