काठमाडौं := नेपालले आइसिसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगितामा युएईसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ । अर्को साता सुरु हुने पाँच राष्ट्र सहभागी प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको हो ।
अप्रिल १३ देखि १९ सम्म काठमाडौंको मूलपानीमा हुने प्रतियोगितामा नेपाल, युएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछन् ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता २०२६ मा जिम्बाबे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले युएईसँग अप्रिल १३ मा खेलेपछि १४ मा ओमान, १६ मा हङकङ र १९ मा अफगानिस्तानसँग खेल्नेछ । राउण्ड रोबिन लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता बन्दै यू-१९ विश्वकपमा पुग्नेछ ।
नेपालले यू-१९ विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसिसी यू-१९ कप जित्दै नेपाल यू-१९ विश्वकपमा पुगेको थियो । नेपालले कुल आठ पटक यू-१९ विश्वकप खेलिसकेको छ ।




















