क्वालालम्पुर ( मलेसिया ):= नेपालले मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म आयोजना भैइ सम्पन्न १६औं विश्व योगासना च्याम्पियनसिप प्रतियोगितामा दुई स्वर्ण ( गोल्ड मेडल) सहित एक रजत र ३ कांस्यपदक गरि ६ वटा पदक जितेको छ ।
९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जित्नुभएको हो । ९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गर्नुभयो ।

सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ बर्ष उमेर समूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग खेलकुद महासंघले आयोजना गरेको प्रतियोगितमा विश्वभरका २३ राष्ट्रबाट १ सय ५३ खेलाडी सहभागी थिए ।
साथै यता उक्त प्रतियोगितामा मलेसियास्थित नेपाली राजदूतावासका राजदूत डा.नेत्रप्रसाद तिम्सिनाको पनि उपस्थिति रहेको थियो । नेपाल योग खेलकुद संघले सन् २०१७ देखि अन्तर्राष्ट्रिय महासंघको सदस्यता लिएर ३ वटा दक्षिण एसियाली, ६ वटा राष्ट्रिय, एउटा प्रदेशस्तरिय र २ वटा उपत्यकास्तरिय प्रतियोगिता संचालन गरिसकेको छ । संघमा करिब ५०० योग खेलाडीहरू जोडिएका छन् ।




















