पोस्टमार्टम सकिएसंगै पत्रकार रजकको शवको अन्तिम दाहसंस्कार सम्पन्न।

काठमाडौं := गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ ।त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको मृत्यु पूर्ण रूपमा जलेर भएको पुष्टि भएको छ ।

“उहाँको शरीरमा गोलीको कुनै निशान भेटिएन। बाहिर हल्ला भएजस्तो मारेर जलाइएको भन्ने प्रमाण पोस्टमार्टम रिपोर्टमा देखिएन,“ चिकित्सकले जानकारी दिए ।पोस्टमार्टम रिपोर्टका अनुसार श्वासप्रश्वास नलीमा धुँवाको अंश भेटिएको छ, जसले आगलागी हुँदा रजक जीवितै रहेको संकेत गर्छ । “जब आगो लाग्यो, उहाँ जीवितै हुनुहुन्थ्यो, जसका कारण श्वासप्रश्वास प्रणालीमा धुँवा पसेको देखिन्छ,“ चिकित्सकले भने ।

हिजो साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो। दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुर्नस्थापनाका लागि भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला एभिन्यूजकर्मी रजकको तीनकुनेस्थित एक घरमा आगलागी हुँदा निधन भएको थियो ।

उनी आन्दोलनका तस्वीर तथा भिडियो खिच्न साे घरभित्र गएका थिए । तीनकुने घटनामै गोली लागेर मृत्यु भएका सविन महर्जनको भने पोष्टमार्टम पछि हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ । रजकको शव पनि परिवारले बुझिसकेका छ्न ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै काठमाडौँको क्षेत्रपाटीनजिकैको ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए।