दलमा फर्किएपछि सहकारी काण्ड र राजनीतिक दलदलबाट निस्किन दौडधुप गर्दै लामिछाने।

काठमाडौं := पार्टीको कार्यकारी भूमिका पुनरागमन गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनमा फर्किन कसरत थाल्नुभएको छ । सोमबार पार्टींको कार्यकारी भूमिकामा फर्किनुभएका लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गर्नुभएको हो।

उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसहित मंगलबार बिहान सभामुखलाई भेट्न संसद् सचिवालय पुग्नुभएका उहाँले आफ्नोे निलम्बन गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण रहेको भन्दै फुकुवा गरिदिन आग्रह गर्नुभएको हो ।

यसअघि गत माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै निवेदन दिनुभएको थियो । तर, सभामुख घिमिरेले सांसद पद निलम्बनबारे तत्कालै निर्णय लिन नसकिने जवाफ दिएपछि उहाँ निराश हुँदै फर्किनुभएको थियो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायत कसुरमा अदालतमा मुद्दा दायर भएपछि गत ८ पुसमा लामिछाने निलम्बनमा पर्नुभएको थियो । तर, यो प्रक्रियासंगत नरहेको रास्वपा नेताहरूको तर्क छ । संसद्को नियमावलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पद निलम्बनमा पर्ने उनीहरूको तर्क छ ।

सक्रिय राजनीतिमा फर्किएपछि फेरि उहाँले संसद्को विषय संसद्बाटै निरूपण होस् भन्ने आफूले चाहेको उहाँले बताउनुभयो । ‘यो मुद्दा मामिलामा धाउने कुरा होइन । भोलि सरकार परिवर्तन हुँदा अरूको मात्र होइन, अफ्नै दलका विरोधी सांसद पनि राजनीतिक हतियार बन्नसक्ने कुरामा ध्यानाकर्षण गरायाँै,’ उहाँले भन्नुभयो,।

‘भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्ने कुरा राख्नुभयो । यसप्रति उहाँ सचेत र चिन्तित पनि हुनुहुन्छ ।’ सभामुखबाटै सांसद पद फुकुवा गर्ने विश्वास भएकाले अहिले अदालत नगएको उहाँको भनाइ थियो ।

सम्पत्ति शुद्धीकरणको मुद्दा राजनीतिक हतियार बन्नसक्नेप्रति सभामुख घिमिरे चिन्तित देखिएको उहाँले बताउनुभयो । ‘मैले त्यसो भए आज सदनमा छलफल गरौँ न, एक पटकमा कतिजना सम्मलाई निलम्बन गर्न पाउने हो, किनभने मुद्दा टेकाइदिए त पुग्यो, मुद्दा किनारा लाग्न कति वर्षौं लाग्छ सबैलाई थाहा छ,’ उहाँले भन्नुभयो,।

‘यो सरकारले विपक्षी पार्टीको मात्रै होइन, आफ्नै पार्टीभित्र पनि प्रतिस्पर्धी छ भने त्यसलाई पनि यो हतियार प्रयोग गर्नसक्ने भयो । त्यसैले मैले यहीबाट समाधान गर्नुपर्छ, राजनीतिक दलहरूसँग कुरा गरियोस् भनेको छु ।’ यद्यपि, सभामुखले तत्काल लामिछानेको सांसद पद फुकुवा गर्न नसक्ने जवाफ दिनुभएको थियो ।

समाचार हिमालय टाइम्सबाट साभार गरिएको हो ।