काठमाडौं := चलचित्र ‘नरसिंहाः अवतार’ को पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ९ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । काठमाडौंको ग्लोबल कलेजमा एक कार्यक्रमको आयोजना गरी पाँच सयभन्दा बढी विद्यार्थीको उपस्थितिमा पोष्टर सार्वजनिक गरिएको हो ।
राकेश दाहालले चलचित्रको पोष्टर डिजाइन गर्नुभएको हो, जहाँ एक पोस्टरमा अभिनेता राजेश हमाललाई राखिएको छ भने अर्को पोष्टरमा अभिनेता राज कटुवाललाई राखिएको छ । पोष्टरको पृष्ठभूमिमा नरसिंहा भगवानको तस्वीरलाई राखिएको छ ।
दिवाकर भट्टराईद्वारा लिखित र निर्देशित यो चलचित्रले अभिनेता राजेश हमाललाई आठ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गराएको छ । जस कारण, यो चलचित्रलाई दर्शकहरूले विशेष रूपमा पर्खिरहेका छन् । कार्यक्रममा चलचित्रको ठूलो आकारको पोष्टर सार्वजनिक गरिएको थियो । हमालले आफ्नो लामो चलचित्र करियरमा यति ठूलो पोष्टर पहिलोपटक देखेको बताउनुभयो ।
यसमा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ ।
राजुविक्रम थापाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनले चलचित्रमा लगानी गर्नुभएको छ । करण सिंह फिल्मको प्रोडक्सन डिजाइनर हुनुहुन्छ भने वसन्त अधिकारी एसोसिएट निर्देशक हुनुहुन्छ ।




















