तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा नै रहेको गणतन्त्र पक्षधर दलको निष्कर्ष।

काठमाडौं := नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार बसेको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठकले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा रहेको निष्कर्ष निकालेको छ। प्रमुख नेताबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा राजा नै भएको निष्कर्ष निकाले हो।

गृहमन्त्री रमेश लेखकका अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको र यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा भएमा सबैदलको एकमत रहेको प्रस्ट पारे। उनले बैठकमा सञ्चारमाध्यम, व्यापारव्यवसाय, राजनीतिक संस्थाको कार्यालयमा भएको आक्रमणबारे छलफल भएको बताएका छन्।

‘हालको शासन व्यवस्था निकै लामो संघर्षबाट प्राप्त भएको हो। त्यसैले नेपालको संविधान र संविधानकै मार्फत देश विकास तथा जनताको सुरक्षामा एकजुट हुनेमा राजनीतिक दल प्रतिवद्ध छौं,’ बैठकपछि उनले भने। उनले संविधानविरोधी कुनै पनि कार्य सह्य नुहने चेतावनीसमेत दिएका छन्। ‘गणतन्त्र र संविधानका विरोधमा गरिने कुनै गतिविधि सैह्य हुने छैन,’ उनले भने।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसालको सहभागीता थियो ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा।बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी थिए।