काठमाडौं := नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक “म र मेरो सानोबुबा” आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताउनु भयो । उहाँले आफूहरुबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना घनिष्ठ रहेको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ ।
हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । काँग्रेसको पूर्ण समर्थन छ ।’ सभापति देउवाले स्व. गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताउनु भयो ।




















