काठमाडौं := नेपाल टेलिकमले कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीका रूपमा चिनिनुभएकी चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कलाकार खड्काले हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा प्रबन्ध निर्देशक संगीता पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीको सेवा प्रवद्र्धन एवं बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा ब्राण्ड एम्बेसडर खड्काले नेपाल टेलिकमजस्तो गरिमामय एवं सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुसी लागेको भन्दै ब्राण्ड एम्बेसडरका रूपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कम्पनीले जनाएको छ ।
सम्झौतासँगै ब्राण्ड एम्बेसडर खड्काले नेपाल टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरू गर्नुहुने पनि कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।




















