काठमाडौं := केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज (सोमबार) त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
आर्मीले संकटा क्लब र मच्छिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनलका निम्ति टिम तयार रहेको र उपाधि कब्जा गर्ने गरी खेल प्रदर्शन गर्ने दुवै टोलीका प्रशिक्षक र कप्तानले जनाएका छन् ।
फाइनलअघि आइतबार रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले मच्छिन्द्र क्लब बलियो देखिए पनि आर्मी क्लब पनि कमजोर नरहेको जिकिर गर्नुभयो । उहाँले फाइनल खेल उत्कृष्ट हुने र उपाधि जित्ने दाबी गर्नुभयो ।
यता त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पीजंग कार्कीले लामो समयदेखिको तयारीले टिम फाइनल पुगेको भन्दै फाइनलका लागि उपाधि जित्ने गरी मैदान उत्रने बताउनुभयो । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले तेस्रोपटक उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने जनाउनुभयो । उपाधिका लागि आफ्नो टिम तयार रहेको र ९० मिनेटभित्रै गोल गरेर जित हासिल गर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले फाइनलका लागि उत्साहित भएको भन्दै उपाधि जित्ने गरी मिहिनेत गरेको बताउनुभयो । खेलकुद क्षेत्रमा समस्या नभई सम्भावना छ भन्ने कुरालाई उजागर गर्दै लगातार केपी ओली कप फुटबल आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता कृष्णहरि केसीले बताउनुभयो ।
फाइनल खेलअघि कुमा सागर एण्ड ख्वपा ब्याण्ड तथा जोन एण्ड दाजुभाइको सांगीतिक प्रस्तुति पनि हुनेछ । त्यसपछि फाइनल सुरु हुनेछ । प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
बुफोनले भने- नेपाल आउने सपना पूरा भयो
विश्वकप विजेता इटालीका पूर्वकप्तान तथा चर्चित गोलकिपर जियानलुइजी बुफोन नेपाल आइपुग्नुभएको छ । उहाँ आइतबार बिहान ११ बजे टर्किस एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नुभएको हो । बुफोन केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न दशरथ रंगशालामा उपस्थित हुनुहुनेछ ।
उहाँ नेपाल आउने विश्व फुटबलकै ठूला नाममध्ये एक हो । सन् २००६ को फिफा विश्वकप जित्नुभएका बुफोनले १७६ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले इटलीका लागि ८० खेलमा कप्तानको भूमिका निर्वाह गर्नुभएको थियो । बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेल्नुभएको थियो ।
बुफोनले नेपाल आउने आफ्नो सपना पूरा भएको बताउनुभएको छ । आइतबार काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले भन्नुभयो, ‘नेपाल आउँदा निकै उत्साहित र खुसी छु । नेपाल आउने मेरो सपना पूरा भएको छ । यो अवसरका लागि आयोजकलाई धेरै-धेरै धन्यवाद । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहृयो । नेपाल निकै सुन्दर लाग्यो । केपी ओली कपको फाइनलका लागि निकै उत्साहित छु ।’