[ चन्द्रकान्त खनाल / हिमालय टाइम्स ]
बुटवल:= पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आहृवानप्रति उत्साहित हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । केही दिनअघि पोखरामा राप्रपाले राजसंस्था पुनःस्थापनको मागसहित विशाल र्याली आयोजना गरेको राप्रापाले शनिबार बुटवलमा बृहत् आमसभाको आयोजना गरेको छ ।
पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाउनुभएको छ ।
बुटवलमा राप्रपाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजिएको, तर जनताको असन्तोषलाई बेवास्ता गरिएको बताउनुभयो । ‘देशमा उजुरी गर्न पाइन्छ, तर कारबाही हुँदैन । यस्तो व्यवस्थाले अब कुनै हालतमा काम गर्ने छैन’, उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले नेपालका लागि वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्लाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नेजस्ता प्रस्ताव अघि सार्नुभयो । ‘नेपाल जस्तो सानो देशमा यति धेरै जनप्रतिनिधि पाल्न सकिँदैन, अन्य तहहरूमा कटौती गर्नुपर्छ,’ उहाँले जोड दिनुभयो ।
अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको, तथा जनताको अवस्था झनै दयनीय बनेको बताउनुभएको छ, ‘देशमा हिजोदेखि नै भ्रष्टाचार थियो, तर अहिले झन् संस्थागत बनाइएको छ’, उहाँले भन्नुभयो । विदेशिएका युवाको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उहाँले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाउनुभयो ।
‘हामीले पर्खेर बस्नु भनेको देश बर्बादीतर्फ जानु हो,’ उहाँले चेतावनी दिनुभयो । साथै, उहाँले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कँदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना गर्नुभयो । अध्यक्ष लिङ्देनले पार्टी संगठन विस्तार गर्दै आगामी दिनमा देशभर शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको संकेत दिनुभयो ।
अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राख्नुभयो ‘राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ, जसलाई दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था ल्याउनुपर्छ,’ उहाँले बताउनुभयो ।
नेपालको परराष्ट्र नीतिबारे बोल्दै उहाँले कुनै पनि देशको प्रभावमा नपरी स्वतन्त्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रधानमन्त्री चीन जाओस् या अमेरिका, उनीहरू कुनै देशका कालिन्दा होइनन्,’ उहाँले स्पष्ट गर्नुभयो ।
शनिबारको कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । लुम्बिनीमा राप्रपाका उपाध्यक्ष धु्रवबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, सहमहामन्त्री ताहिर अली, केन्द्रीय सल्लाहकार समिति संयोजक निरञ्जन थापा, सचिव प्रदीप उदयसहितका नेताहरूको गृहप्रदेश हो ।
कार्यक्रममा पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वमन्त्री निरञ्जन थापाले देशमा अहिलेको अवस्थाले धेरैलाई चिन्ता थपेकोले पार्टीले यस्तो अभियान थालेको बताउनुभयो ।
‘राजा ज्ञानेन्द्र शाहबाट सम्बोधनका क्रममा मेलमिलापको स्पष्ट कुरा आएको छ, प्रष्ट कुरा बाहिर ल्याएको समयमा केही गलत व्याख्या भएको तर देशलाई निकास दिन तयारी । राजासहितको व्यवस्था देशमा जरुरत रहेको छ’, उहाँले भन्नुभयो । थापाका अनुसार ज्ञानेन्द्र शाहलाई जनमतका आधारमा नहटाइएको उहाँको तर्क थियो ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तनको सुरुवात भएको घोषणा गर्नुभयो । राप्रपाले सुदूरपश्चिम प्रदेशमा आज, मधेसमा फागुन २१, बागमतीमा फागुन २५, कर्णालीमा फागुन २७ गते यस्तै सभा गर्ने भएको छ ।
यसैबीच शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्याली निकालेको छ । सामाखुसीमा जम्मा भएका उनीहरू मोटरसाइकल र्याली निकाल्दै नारायणहिटीतर्फ प्रवेश गरेका थिए । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच लगेर राजालाई लगाउने उनीहरूले चेतावनी दिए ।




















