काठमाडौं := यसपालिको बडादशैँको फूलपातीदेखि चलचित्र ‘बलिदान’ सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माण पक्षले शुक्रबार दुई पोष्टर सार्वजनिक गर्दै असोज १३ गते फूलपातीदेखि सिनेमाघरमा आउने जनाएको हो । यसअघि नै फूलपातीलाई ‘डबल ट्रिपल’, ‘दशमी’, ‘हरिबहादुरको जुत्ता’, ‘महाराजधिराज’ र ‘माइतीघर’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
‘बलिदान’को शीर्ष अभिनेता समीर भट्टलाई चित्रण गरिएको दुई पोष्टरमा एक्सन भाव र सेटिङ प्रस्तुत छ ।एउटा पोष्टरमा मुख्य पात्र शवले छरिएको मैदानबाट अघि बढ्दै गरेको देखिएका छन् । अर्को पोष्टरमा कालीमाता को भव्य मूर्तिअघि मुख्य पात्र त्रिशूल र खड्ग लिएर उभिएका छन् । यो एक्सन र पलिटिकल ड्रामालाई सन्तोष सेनले निर्देशन गर्नुभएको हो ।
पोष्टर सार्वजनिक गर्दै सेनले चलचित्रले जहाँसुकैको शोषण र शोषित वर्गको चित्रण गर्ने उल्लेख गर्नुभएको छ । पोष्ट-प्रोडक्सन कार्य सुरु भएको र दशैँको आसपासमा सबै काम सकिने उहाँले जनाउनुभएको छ । चाँडै चलचित्रको टिजर ल्याउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।
समीरका बुबा तथा अभिनेता विराज भट्टले पनि पोष्टर सेयर गर्नुभएको छ । विराज निर्देशित ‘१२ गाउँ’बाट समीरले रजतपटमा डेब्यु गर्नुभएको थियो । चार महिना लगाएर छायांकन गरिएको यो चलचित्र फागुन पहिलो साता सकिएको थियो । चलचित्रमा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरसियालगायतको अभिनय छ ।
दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गर्नुभएको छ । चलचित्रमा पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्मातामा हुनुहुन्छ । २०८२ सालको दशैँ असोज ६ गते (घटस्थापना)बाट सुरु हुँदैछ । असोज १३ गते सोमबारदेखि असोज १८ गते शनिबारसम्म (फूलपातीदेखि द्वादशीसम्म) दशैँ बिदाको घोषणा सरकारले गरिसकेको छ ।




















