१४औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) गेम्स अन्ततः पाकिस्तानमा हुने।

पाकिस्तान:= विभिन्न कारणले सर्दै आएको दक्षिण एसियाली खेलकुद (साग) गेम्स अब हुने भएको छ । १४औँ संस्करणको यो गेम्स सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुने भएको हो ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पाकिस्तानमा मंगलबार बसेको बैठकले साग आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा सातवटै देशका ओलम्पिक परिषद्का अध्यक्षहरूको सहभागिता थियो भने भारतले अनलाइनमार्फत् सहभागिता जनाएको थियो ।

यसअघि नै पाकिस्तानमा आयोजना हुने तय भएको साग पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने निर्णय बैठकले गरेको छ । यसअघि १३औँ संस्करण सन् २०१९ मा नेपालमा भएको थियो । दुई/दुई वर्षमा हुनैपर्ने यस प्रतियोगिता सन् २०२१ मा हुनुपर्ने थियो । तर, कोभिड-१९ र विभिन्न कारणले साग सर्दै आएको थियो ।

पाकिस्तानको लाहोरमा भएको बैठकको अध्यक्षता सागका अध्यक्ष खालिद महमुदले गर्नुभएको थियो । बैठकमा नेपालको प्रतिनिधित्व नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले गर्नुभएको थियो। बैठकले सागको मिति घोषणासहित दुई खेल थप्ने निर्णय पनि गरेको छ ।

यसअघि प्रतियोगितामा २७ खेल हुने तय भइसकेको थियो । आयोजक देशको हिसाबले पाकिस्तानले दुई खेल थप्न लागेको हो । तर, चारभन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइने भएको छ । खेलको विस्तृत विवरण टुंग्याउनका लागि अर्को बैठक मार्च २०२५ मा आयोजना गरिने जनाइएको छ ।