उडिसामा नेपाली विद्यार्थीको मृत्यु, छानबिन मागगर्दा निकालिए सयौं नेपाली विद्यार्थी।

ईन्डिया := भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एकजना नेपाली विद्यार्थी होस्टेलमा मृत अवस्थामा भेटिएकी छन्। उडिसाको भुवनेश्वरस्थित कलेजको होस्टेलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिनुभएको हो ।

कलेजले उहाँले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । ‘उनी केआइआइटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ’, समाचारमा विज्ञप्ति उल्लेख गर्दै भनिएको छ, ‘त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’

कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ । तर, उडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उहाँ आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

लम्सालले करिब चार हप्ताअघि नै आफूले भोगिरहेको दुव्र्यवहारबारे कलेज प्रशासनलाई लिखित जानकारी गराउनुभएको थियो । उहाँले सोही कलेजकै विद्यार्थी अद्विक श्रीवास्तवले आफूलाई दुव्र्यवहार गर्ने गरेको भन्दै मद्धत माग्नुभएको थियो ।

तर, कलेज प्रशासनले उहाँको निवेदनलाई गम्भीरतापूर्वक लिएन । १६ फेब्रुअरी (४ फागुन) को दिउँसो होस्टेलमा प्रकृति मृत अवस्थामा फेला पर्नुभयो । नेपाली विद्यार्थीको मृत्यु भएको र होस्टेल/कलेज प्रशासनले प्रहरीको उपस्थितिबेगर नै शव चलाएपछि केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी आक्रोशित बने ।

उनीहरूले कलेज प्रशासन र होस्टेल प्रशासनले लापरबाही गरेको आरोप लगाए । प्रकृतिले आफूमाथि भइरहेको दुव्र्यवहारबारे जानकारी गराउँदा पनि प्रशासनले गम्भीरतापूर्वक नलिएको भन्दै विरोध गरे ।नेपाली विद्यार्थीहरूले प्रकृतिको फोनको प्रहरीले फरेन्सिक जाँच गर्नुपर्ने माग राखे ।

साथै, प्रकृति बस्ने होस्टेलको सिसिटिभी फुटेज जाँच गर्नुपर्ने, प्रकृतिसँगै होस्टेलमा बस्ने साथीहरूको बयान लिनुपर्ने, प्रकृतिले दिएको निवेदनमा कारबाही नगरेकोमा कलेज प्रशासनमाथि कारबाही गर्नुपर्ने, आरोपित युवकको विवरण सार्वजनिक गर्नुपर्ने, नेपाली विद्यार्थीहरूका लागि कलेजमा छुट्टै प्रतिनिधि राख्नुपर्ने र महिला विद्यार्थीको सुरक्षार्थ महिला सेल बनाउनुपर्ने माग राखे ।

होस्टेलका वार्डेन र सुरक्षा गार्डले प्रहरीको अनुपस्थितिमा नै प्रकृतिको शव चलाएको हुँदा उनीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग पनि राखेका थिए । यी माग राखेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि सुरक्षा गार्ड लगाएर हातपात गर्न सुरु गर्‍यो ।

सुरक्षा माग गरिरहेका नेपाली विद्यार्थीलाई नै कलेज प्रशासनले प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिएको भिडिओ नेपाली विद्यार्थीहरूले सार्वजनिक गरेका छन् । घटनापछि सोमबार पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कलेज र होस्टेलबाट जबरजस्ती उठाएर भुवनेश्वर कटक रेलवे स्टेसनमा छाडेको छ ।

कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भुवनेश्वरका डिसिपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको छ । ती छात्रसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । आत्महत्याको घटना प्रकाशमा आएसँगै आइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीले कलेज परिसरमा विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले भनेको छ, ‘स्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ । अहिले स्थिति नियन्त्रणमा छ ।’

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीलाई बोकेको दुईवटा बस कटक रेलवे स्टेसनमा पुगेको छ । त्यहाँबाट ती विद्यार्थीलाई नेपालतर्फ पठाइने जनाइएको छ । रेलवे स्टेसनमा पुगेका एक नेपाली छात्रले भन्नुभयोे, ‘हामीलाई होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेसनमा ल्याइएको छ । हामीले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने थियो ।’

थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठायौँ : विश्वविद्यालय

भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ । विश्वविद्यालयले सोमबार विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको छ ।

शोकमा डुब्यो प्रकृतिको परिवार

अप्रत्याशित रूपमा छोरीको मृत्युको खबर पाएपछि प्रकृतिको परिवार शोकमा डुबेको छ । प्रकृति कलेजको होस्टेलमा मृत फेला परेको खबर कलेजमा पढ्ने अन्य नेपाली विद्यार्थीले परिवारसमक्ष पुर्‍याएका थिए । सोमबार बिहान बाबु सुनिल प्रकृतिको शव राखिएको अस्पतालमा पुग्नुभएको थियो ।

मृतकको मंगलबार मात्रै पोष्टमार्टम गरिने भएको छ । परिवारका अनुसार दशैँ बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिनुभएको थियो । त्यसपछि कलेज पुगेकी उहाँ घर आउनुभएको थिएन । प्रकृतिलाई मानसिक तनाव दिएर यस्तो घटनासम्म पुर्‍याइएको परिवारले बताएको छ ।

प्रकृतिले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको ढकालको भनाइ छ । ‘गम्भीर घटनालाई कलेजले बेवास्ता गरेका कारण यस्तो भयो’, उहाँले भन्नुभयो। रुपन्देहीको सिद्धार्थनगर-८, बैंक कलौनी घर भए पनि १० वर्षयता प्रकृतिका बाबु सुनिल र आमा सरिता काठमाडौंमा बसेर मसला उद्योग चलाइरहनु भएको छ । एक्ली छोरी प्रकृतिको मृत्युले परिवार आहत छ ।