च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट विजेता टोलीले २२ लाख ४० हजार डलर पाउने।

एजेन्सी:= अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर (३० करोड ९७ लाख ४४ हजार रुपैयाँ) पाउनेछ ।

दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार डलर (१५ करोड ४८ लाख ७२ हजार रुपैयाँ) पाउनेछ । यस्तै सेमिफाइनलमा हार्ने टोलीले पाँच लाख ६० हजार डलर (सात करोड ७४ लाख ३६ हजार रुपैयाँ) पाउनेछ ।

२०१७ च्याम्पियन्स ट्रफीको कूल पुरस्कार राशि ५३ प्रतिशतले बढाइएको छ र यसपटक पुरस्कार राशिमा कूल ६९ लाख डलर (९५ करोड ४१ लाख २३ हजार) खर्च हुनेछ । फेब्रुवरी १९ मा सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन् । यसको फाइनल खेल मार्च ९ मा हुनेछ ।

यसलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली छन् । च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा हुनेछन् । तर, भारतका खेल पाकिस्तानमा आयोजना हुने छैनन् । सन् २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो ।