काठमाडौं := काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ। त्रिवि मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो ।
नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।
६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे । डेब्यू गर्ल राजमती ऐरी १४ बलमा ११ रन जोडेर अविजित रहिन् ।
बलिङमा नेपालकी कप्तान इन्दुले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । पूजा महतोले २ ओभरमा ११ रन खर्चेर १ विकेट लिइन् । अरु बलरहरु विकेटविहीन भए ।




















