काठमाडौं := नेपालकी कप्तान पूजा महतो आइसिसी यू-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्नुभएको छ । आइसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीको सूचीमा पूजा अटाउनुभएको हो ।
मलेसियामा आइतबार सम्पन्न आइसिसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।
पूजा आइसिसीको टिममा पर्ने एसोसिएट खेलाडी हुनुहुन्छ । उहाँले विश्वकपको चार खेलमा ७० रन बनाउनुका साथै नौ विकेट लिनुभएको थियो । आइसिसीको टिममा विजेता भारतबाट चार, उपविजेता दक्षिण अफ्रिकाबाट तीन, इंग्ल्याण्डबाट दुई तथा नेपाल, श्रीलंका र अष्ट्रेलियाबाट एक-एक खेलाडी परेका छन् ।
पहिलोपटक यू-१९ विश्वकप खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणका तीन खेलमा पराजित भएको थियो । नेपालले प्लेअफ खेलमा भने आयोजक मलेसियालाई सात विकेटले हराएको थियो ।