आज तामाङ समुदायको सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष, देशदेखि विदेशसम्म मनाइँदै।

काठमाडौं := तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (बिहीबार) विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१औँ वर्ष सुरु हुन्छ ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । सोनाम ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

नेपाल तामाङ घेदुङको नेतृत्वमा रहेको ल्होसार मूल समारोह समितिको आयोजनामा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम पहिलो दिन मंगलबार बिहान शीतलनिवासमा लामा गुरु, ताम्बा र बोम्बोहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेपछि राष्ट्रपति पौडेलले शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाल समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । ‘इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ ।

यसले निरन्तरता पाउने आशा गरेको छु,’ अध्यक्षसमेत गोलेले भन्नुभयो । उहाँले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको बताउनुभयो ।

राष्ट्रपति कार्यालयमा पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

टुँडिखेलमा बुधबार सांस्कृतिक कार्यक्रमसहित ल्होछार इभ मनाइएको थियो भने आज मुख्य दिन सांस्कृतिक झाँकीसहित ¥याली तथा ल्होसार समारोह हुने आयोजकले जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तय भएको छ ।

ल्होसार महोत्सवमा तामाङ मौलिक खाना, भेषभूषा तथा सांस्कृतिक पहिचान झल्कने वस्तुका स्टलहरू राखिएका छन् । तामाङ समुदायले यो वर्ष गरुड वर्षलाई बिदाइ गर्दै सर्प वर्षलाई स्वागत गर्दै छन् । ल्होसार तामाङ समुदायको नयाँ वर्ष हो ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ भने देशका अन्य भागमा पनि ल्होसार मनाइने गरिन्छ । तामाङ समुदायमा इष्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउने गरिन्छ ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य दलका प्रमुख नेता तथा अन्य नेताहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।