काठमाडौं := नेपाली राष्ट्रिय महिला टोली नहेर्ने घोषणा गर्नुभएका राजेन्द्र तामाङले मुख्य प्रशिक्षकमा पुनरागमन गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उहाँलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्तिपत्र थमाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत कात्तिक १४ गते भएको साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग दुई-एकले पराजित भएसँगै उहाँले टोली छाडेको घोषणा गर्नुभएको थियो । त्योसँगै उहाँले अब राष्ट्रिय महिला टोली कहिल्यै नहेर्ने वाचा गर्नुभएको थियो।
‘मैले आजैबाट महिला टोली छाडेको छु । अब म महिला टोलीमा हेर्दिन । अब म क्लबतिर जान्छु,’ उहाँले भन्नुभयो। तर, त्यसको तीन महिनापछि नै उहाँले जिम्मेवारीमा पुनरागमन गर्नुभएको हो । गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उहाँले नेपाललाई फाइनल पुर्याउनुभएको थियो ।
त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उहाँको प्रशिक्षणमा साफको फाइनलमा पनि हार बेहोरेको थियो।अब उहाँको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउनेछन् । तामाङले सोमबार नै ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ ।
३९ खेलाडी बन्द प्रशिक्षणमा
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्न बन्द प्रशिक्षणमा ३९ खेलाडीलाई बोलाउनुभएको छ । नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म किर्गिस्तान, लेवनान र म्यानमारसँग फोर नेसन्स कप खेल्न लागेको हो । यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको हो । बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विके, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिशा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेनुका नगरकोटी, सरु लिम्बू, सवित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, सजनी ठोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सावित्री किशन, सहारा लिम्बू, सुस्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुकृया मियाँ, प्रतीक्षा चौधरी, सेमीहाङ्मा लिम्बू पन्धाक, मिना देवुवा, पुष्पाकुमारी खड्का, यशोदा शाही, ममता पुन र झुमा विश्वकर्मा हुनुहुन्छ ।