रास्वपाका सभापति रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले दिए आदेश।

रुपन्देही:= सुप्रिम सहकारी ठगी आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश गरेको छ। तत्काल प्राप्त प्रमाणले उहाँलाई निर्दोष मान्न नमिल्ने भन्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।

आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि लामिछाने गएको बुधबार अदालतमा हाजिर हुनु भएकाे थियाे।त्यसदिन बयान लिएर बिहीबारदेखि थुनछेक बहस सुरु गरिएको थियो। आइतबार सुरुमा रविका वकिलले बहस गरेका थिए। उनीहरूको बहसपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका थिए।

सुप्रिम सहकारी प्रकरणमा रविसहित २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरिएको छ। उनीहरूले संगठित तवरमा मिलेर सहकारीको ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ गैरकानुनी रूपमा अर्कै कम्पनीमा लगेर ठगी गरेको अभियोगपत्रमा उल्लेख छ।

यसअघि सहकारी ठगीकै अभियोगमा रविसँग कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौँ जिल्ला अदालतले ६० लाख रूपैयाँ धरौटी लिएर रविलाई थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने अवसर दिएका थिए। कास्की, काठमाडौँ र रुपन्देहीको गरी रविको धरौटी रकम २ करोड २५ लाख रूपैयाँ पुगेको छ।

अब रविविरुद्ध चितवन र पर्सा जिल्ला अदालतमा त्यहाँका २ वटा सहकारी ठगी प्रकरणमा मुद्दा चलाउनेछन्। रूपन्देहीमा रविलाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर तीन दिनसम्म बहस चलेको थियो।