काठमाडौं := मिलन चाम्स निर्देशति चलचित्र ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । फागु पूर्णिमा (होली)को अवसर पारेर आगामी फागुन २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘अञ्जिला’को प्रचारात्मक गीतको रूपमा बुधबार युट्युबमार्फत् ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको हो ।
राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएको गीतमा राजनराज स्वयंको शब्द तथा संगीत छ । कविराज गहतराजले कोरियोग्राफी तथा रामकुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले यो गीत चलचित्रको प्रचारप्रसारको प्रयोजनको लागि तयार पारिएको बताउनुभयो । यो चलचित्र महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको छ ।
निर्देशक चाम्सले चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताउनुभयो ।
चलचित्रमा एञ्जिला आफैं मुख्य भूमिकामा हुनुहुन्छ भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ ।
यस चलचित्रको भव्य वल्र्ड प्रिमियर गत मंसिर २३ गते हङ्कङमा भएको थियो, जसमा दर्शकले प्रशंसा गरेका थिए । यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अष्ट्रेलिया, र जापानमा समेत रिलिज हुने निर्माता श्रेष्ठले जानकारी गराउनुभयो ।
चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको छ भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ ।
मुन लभ इन्टरटेन्मेन्टको व्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सहनिर्माता हुनुहुन्छ । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गर्नुभएको छ ।