चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ दोस्रो ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं := आगामी माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पाँच मिनेट १६ सेकेण्डको ट्रेलर चलचित्रका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

सामाजिक सञ्जालबाट भेटिनुभएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । विशेषतः ट्रेलरले फिल्मले पहाडी-मधेसी मेलमिलापको खोजी गरेको देखाएको छ । चलचित्रमा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा हुनुहुन्छ ।

ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको नयाँ गीत ‘सपनीमा’का फुटेजलाई पनि स्थान दिइएको छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो ।

चलचित्रमा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उहाँले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गर्नुभएको थियो । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उहाँकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा अमर महर्जनको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।