नेपाली कांग्रेस (बीपी)मा पहिरो, जसले बनाए उसैले छाडेर पुरानै पार्टी कांग्रेसमा फर्किए।

काठमाडौं := नेपाली कांग्रेस छाडेका नेताहरूले निर्माण गरेको पार्टी नेपाली कांग्रेस (बीपी)मा पहिरो गएको छ । संस्थापक सभापति हरिबोल भट्टराईसहित एक दर्जन नेताहरू कांग्रेसमै फर्किएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान आफ्नै निवासमा आयोजित कार्यक्रमबीच नेपाली कांग्रेस (बीपी)का प्रभावशाली नेताहरूलाई कांग्रेसमा स्वागत गर्नुभयो ।

संस्थापक सभापति भट्टराईसहित नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, संस्थापक महामन्त्री पुष्पराज पराजुली, उपसभापतिहरू विष्णुप्रसाद ढकाल, गोविन्दराम परियार र भरतराज शर्मा, महामन्त्री भक्तराज भुसाल, सहमहामन्त्री ऋषव भट्टराई पनि कांग्रेसमा फर्कनुभएको हो । नेपाली कांग्रेस (बीपी) त्याग्नेमा प्रवक्ता शिवप्रसाद सिंखडा, केन्द्रीय सदस्यहरू यमबहादुर आले, अञ्जान लामा, केशव ढुंगानालगायत रहनुभएको छ ।

उहाँहरूलाई स्वागत गर्दै सभापति शेरबहादुर देउवाले विगतका तीतामीठा बिर्सेर कांग्रेसलाई अझै सशक्त बनाउन सक्रिय रहन आग्रह गर्नुभयो । नेपाली कांग्रेस नै नेपालको राजनीतिको मुख्य शक्ति रहेको भन्दै देउवाले कांग्रेस बलियो हुँदामात्रै लोकतन्त्र बलियो हुने बताउनुभयो । उहाँले विगतमा पार्टी छाडेका नेताहरूलाई पुनः आफ्नै घर फर्कन आग्रह गर्दै उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बीपी कांग्रेसका वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेलले नेपाली कांग्रेसविरुद्ध चौतर्फी घेराबन्दी बढ्दै गएकाले फरक पार्टीमा रहनुभन्दा पुरानै पार्टीमा फर्केर काम गर्न उपयुक्त हुने ठानेको बताउनुभयो । ‘हामी यसै पनि कांग्रेस नै हौं । केही असन्तुष्टिले बीपी कांग्रेसमा लागेका थियौं तर अब संस्थापक सभापति, संस्थापक महामन्त्रीसहितका नेताहरू पुरानै पार्टीमा आयौं’, पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले पार्टी प्रवेशका लागि कुनै शर्त नराखिएको बताउनुभएको छ । ‘पार्टी सभापतिले उचित भूमिका दिन्छु भन्नुभएको छ । हामी निःशर्त कांग्रेसमा फर्किएका छौं’, उहाँले भन्नुभयो ।

जसले बनाए उसैले छाडे

नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा २०७४ साल कात्तिकमा नेपाली कांग्रेस (बीपी) गठन भएको थियो । नेपाली कांग्रेसले बीपीको विचार छाडेको, सत्ता राजनीतिमा मात्रै केन्द्रित भएको, पार्टीभित्र न्याय नभएको लगायत आरोप लगाउँदै कांगे्रेसकै नाममा पार्टी खोलेको सात वर्षपछि भट्टराई स्वयं कांगे्रेसमा फर्किनुभएको हो ।

सभापति देउवा निवासमा आयोजित कार्यक्रममा उहाँले कांग्रेस कमजोर हुँदा प्रजातन्त्र नै कमजोर हुने भएकाले कांग्रेसमै फर्किन उपयुक्त ठानेको बताउनुभयो । संस्थापकसहितका नेताहरूले छाडेपछि नेपाली कांग्रेस (बीपी) अप्ठ्यारोमा परेको छ । सो पार्टीमा अहिले सुशीलमान शेरचन सभापतिको रूपमा हुनुहुन्छ । सो पार्टीले गत प्रतिनधिसभा निर्वाचनमा समानुपातिकतर्फ १२ हजार ५०२ मत प्राप्त गरेको थियो ।