काठमाडौं := सञ्चारकर्मबाट रवि लामिछानेले हासिल गरेको ‘नाम’ को जगमा स्थापित भएको पार्टी हो- राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् (रास्वपा) । २०७९ साल असार ७ गते रविले रास्वपा घोषणा गरेपछि मात्रै सो पार्टीमा जोडिएकाहरू पार्टी र संसदीय फाँटको महत्वपूर्ण जिम्मेवारीमा छन् ।
स्थापनाको छोटो समयमै रास्वपाले चौथो ठूलो राजनीतिक दलको हैसियत र सत्ता राजनीतिमा सम्मानजनक स्थान हासिल ग¥यो । वैकल्पिक राजनीतिको केन्द्र बन्दै गरेको रास्वपा रविकै नेतृत्वमा २०८४ को निर्वाचनमा बहुमत हासिल गर्न चाहन्थ्यो । जसलाई रास्वपाले घोषित नीतिमै समेटेको थियो ।
यद्यपि, सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध मुद्दा नै चलिसकेपछि अब रविको नामबाट स्थापित रास्वपा रविको ‘बदनाम’ सँगै गम्भीर मोडमा पुगेको छ । गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेसँगै रास्वपाभित्र भावी नीति र नेतृत्वका बारेमा संकट देखापरिसकेको थियो ।
यद्यपि, अदालतसम्म मुद्दा नपुग्दासम्म रविलाई पदमुक्त गर्ने हिम्मत रास्वपाले गर्न सकेन । रविविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अभियोगमा मुद्दा दर्ता भएको छ । योसँगै रास्वपाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिने निर्णय गर्यो ।
अर्कोतिर रविको सांसद पद निलम्बनमा परेपछि संसदीय दलको नेता को हुने ? भन्ने प्रश्न रास्वपातिर तेर्सिएको छ । रविको अनुपस्थितिमा पार्टीभित्र समस्या नरहेको देखाउन अनेक प्रयत्न गरिए पनि रास्वपाभित्र गुटगत राजनीतिको प्रभाव बढिसकेको छ ।
कार्यबाहक सभापति डिपी अर्यालकै समग्र नेतृत्वमा अगाडि बढ्ने वा उपसभापति डा. स्वर्णिम वाग्लेलाई पनि उपयुक्त नेतृत्व दिने ? भन्ने विवाद रास्वपामा कायमै छ । हाललाई रास्वपा एक तदर्थ संस्थाजस्तो बन्न पुगेको छ । जहाँ सभापति, महामन्त्री र प्रवक्तासमेत कार्यबाहक छन् ।
पार्टीमा कार्यबाहक नै कार्यकारी
रास्वपामा काम र भूमिकाको हिसाबले कार्यकारी रहने सबैजसो पदहरू कार्यबाहकको भरमा चल्नुपर्ने स्थिति बनेको छ । अदालतबाट रविको मुद्दा नटुंगिँदासम्म यस्तो परिस्थिति कति लामो जान्छ ? भनेर आँकलन गर्ने अवस्थासमेत छैन । अहिले रास्वपाको कार्यबाहक सभापति डिपी अर्याल हुनुहुन्छ । जो पार्टी स्थापना कालदेखि नै रविको मुख्य मेरुदण्डको रूपमा रहँदै आउनुभएको छ ।
सभापति पछिको कार्यकारी मानिने महामन्त्री पद रिक्त छ । संस्थापक महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरेर यसअघि नै कविन्द्र बुर्लाकोटीलाई सहमहामन्त्री बनाइएको छ । प्रवक्तासमेत रहनुभएका महामन्त्री ढकाल कारबाहीमा परेपछि कार्यबाहक प्रवक्ताको जिम्मेवारी सांसदसमेत रहनुभएका मनिष झाले निर्वाह गरिरहनु भएको छ । यसरी हेर्दा रास्वपा पार्टी नै कार्यबाहकको भरमा चल्ने देखिएको छ । संसदीय दलमा पनि तत्काल अरू कसैलाई नेता बनाउन नहुने मत बलियो भएकाले विराजभक्त श्रेष्ठले कार्यबाहक संसदीय दलको भूमिका निर्वाह गर्नुपर्ने अवस्था आइपर्न सक्छ ।




















