राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्याललाई।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्याल “डीपी अर्याल”ले पाउनु भएको छ। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले रवि लामिछानेको इच्छाअनुरुप नै कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि उहाँलाई कार्यवाहकको जिम्मेवारी दिएको एक सांसदले जानकारी दिए। रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।

रास्वपामा कार्यवाहक नै कार्यवाहक , महामन्त्री र प्रवक्ता पनि कार्यवाहक !

साथै (रास्वपा) उच्च नेतृत्वको अघिल्तिर ‘कार्यवाहक’ फुर्का झुन्डिने क्रम अब ‘सभापति’सम्म पुगेको छ । रास्वपामा पार्टीको महामन्त्री र प्रवक्ता पनि कार्यवाहक नै छन् ।

महामन्त्री, प्रवक्ताको जिम्मेवारीबाट रास्वपाले असार २५ गते मुकुल ढकाललाई पदमुक्त गरेपछि कार्यवाहकको शृङ्खला सुरू भएको थियो । त्यतिबेला कार्यवाहक महामन्त्रीको जिम्मेवारी सह–महामन्त्री कबिन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी सहायक प्रवक्ता मनिष झालाई तोकिएको थियो ।

देश दौडाहापछि तयार पारेको प्रतिवेदनमा पार्टीको खस्कदो स्थितिबारे उल्लेख गरेको र ती कुरा बाहिर ल्याएको अभियोगमा ढकाललाई असार २५ गतेको केन्द्रीय समिति बैठकले कारबाही गरेको थियो ।

पार्टी निर्णय चित्त नबुझे पुनरावेदन गर्न ३५ दिनको समय दिइएको थियो । तर, उक्त समयमा पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको आरोप लगाउँदै साउन ३० गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

ढकालले ३१ गते स्पष्टीकरण बुझाएका थिए । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले फेरि अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  रास्वपाले भदौ ११ गते ढकाललाई साधारण सदस्यबाट पनि निष्कासित गरेको थियो । उनलाई पार्टीबाट हटाए पनि रास्वपाले महामन्त्री र प्रवक्ता तोकेको छैन ।

रास्वापले पार्टीको महाधिवेशन ०८१ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको छ। रास्वपाले ढकाललाई महामन्त्री र प्रवक्ता पदबाट हटाएर केन्द्रीय समिति अद्यावधिकका लागि निर्वाचन आयोग पनि पठाएको थियो ।

तर, आयोगले त्यसबारे कुनै निर्णय गरिसकेको छैन । लामिछाने संसदीय दलका नेता पनि हुन् । उनी निलम्बनमा परेपछि त्यहाँ पनि अर्को कुनै नेतालाई जिम्मेवारी दिनुपर्ने हुन्छ ।