काठमाडौं := सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिनुभएको थियो । प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए । प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो ।
सिआइबीले प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको थियो । यसअघि गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो।
धरौटी बुझाएर रिहा हुनेबित्तिकै उहाँलाई सिआइबीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो ।




















