त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान।

काठमाडौं := त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज बोलपत्र आह्वान गरेको हो।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ। बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ। बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ। सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ।

प्रधानमन्त्रीले भने गएको कात्तिकको पहिलो साता नै सरकारका सय दिनका काम सार्वजनिक गर्दै त्रिवि मैदानमा काम सुरु भइसकेको दावी गरेका थिए । प्रक्रिया हेर्दा भने उनी प्रधानमन्त्री पदबाटै बाहिरिँदा समेत काम सुरु हुन गाह्रो छ ।

प्रधानमन्त्री स्वयंले केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने कुरा पटक पटक बताइसकेका छन् । ओलीले प्रधानमन्त्री पद छाड्ने बेला आउँदासम्म निर्माण कम्पनी नै छनोट नहुन पनि सक्छ किनकि यसअघि २,३ पटकसम्म टेन्डर आह्वान गरिए पनि आवेदन दिने निर्माण कम्पनी सबै अयोग्य ठहरिएर टेन्डर रद्द भएका थिए ।

आर्थिक वर्ष २०८१–८२ को बजेटमा पनि फ्लडलाइट निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । टेन्डर भने पुसको तेस्रो साता मात्रै आश्वान गरिँदैछ ।

उता प्रधानमन्त्री भने एकातिर काम सुरु भइसकेको दावी गर्छन् । अर्कोतिर उनको मन्त्रिपरिषदले गएको असार मसान्तका दिन बसेको बैठकबाट ३०० दिनभित्र फ्लडलाइट र प्याफिट निर्माणको काम पूरा गर्ने निर्णय गरेको थियो ।

निर्णय गरेको ६ महिनापछि अहिले बल्ल टेन्टर आह्वान हुँदैछ । अहिले मागिएको आवेदनबाटै कम्पनी छानिएको अवस्थामा पनि कम्पनी छानिँदासम्म प्रधानमन्त्रीले तोकेको ३०० दिनको समय सकिने अवस्था छ ।