काठमाडौं := काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल)को शीर्ष चारको होडमा फर्किएको छ । शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौं शीर्ष चारको होडमा फर्किएको हो । उक्त खेलमा काठमाडौंले पोखरालाई ३५ बल बाँकी हुँदै सहज जित हात पारेको थियोे ।
यही जितबाट प्राप्त दुई अंकसहित काठमाडौंले शीर्ष चारमा पर्ने सम्भावनाको ढोकालाई थप बलियो बनाएको छ । १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन एस्कान्जीले ३४ बलमा ६० रन बनाउनुभयो । माइकल लेभिटले १८ बलमा ३२, भीम सार्कीले २० बलमा २२ रनको योगदान दिनुभयो ।
एनपिएलको प्लेअफमा पुग्न काठमाडौंले लिग चरणको अन्तिम खेल जितेर मात्र पुग्दैन, अन्य खेलको नजिता पनि आफू अनुकूल आउनुपर्ने छ । काठमाडौंले आइतबार विराटनगर किंग्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ ।
हारसँगै पोखरा शीर्ष चारको दौडबाट लगभग बाहिरिएको छ । उसको अब प्लेअफ पुग्ने सम्भवना अंकगणितीय रूपमा मात्र बाँकी छ । ६ खेलबाट अंकतालिकामा चार अंक पाएको पोखराले अब लिगको अन्तिम खेल जितेर मात्र पुग्दैन । नेट रनरेट र अन्य खेलको नतिजा पनि पक्षमा आउनुपर्ने छ ।
बलिङमा पोखराका विपिन खत्रीले तीन ओभरमा १९ रन खर्चेर तीन विकेट लिनुभयो । माइकल लिस्कले एक विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रन बनाएको थियो ।
पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाउनुभयो । ३० बल खेल्नुभएका उहाँले एक चौका र तीन छक्का प्रहार गर्नुभयो । यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा ३८ रन बनाउनुभयो ।
उहाँले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोड्नुभएको थियो । यस्तै दिलिप नाथले २४ बलमा दुई छक्का मद्दतमा २७ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कप्तान करण केसी र रासिद खानले ३-३ विकेट लिनुभयो । करणले चार ओभरमा २४ र रासिदले चार ओभरमा ४३ रन खर्चिनुभयो ।
चितवनको प्ले अफ सम्भावना बलियो
जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकाल्दै चितवन राइनोजले एनपिएलको प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । जितसँगै चितवनले सात खेलमा आठ अंक जोडेको छ । पराजित जनकपुरको समान खेलबाट १० अंक छ । जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।
चितवनको यो जितसँगै विराटनगर किंग्स र पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना भने समाप्त भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा समेटियो । जनकपुरका लागि जिमी निसमले ६५, आसिफ शेखले २३, शुभ कंसाकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाउनुभयो ।
चितवनका लागि सोहेल तन्विर, रिजन ढकाल र कप्तान कुशल मल्लले समान दुई तथा अमरसिंह रौटेलाले एक विकेट लिनुभयो । रिजन ढकालले पहिलो ओभरको अन्तिम बलमा कप्तान अनिलकुमार साहलाई व्यक्तिगत आठ रनमा सोहेल तन्विरबाट क्याच गराउनुभयो ।
दोस्रो ओभरको अन्तिम बलमा सोहेलले लाहिरू मिलान्थालाई एलबिडब्ल्युको धरापमा पार्नुभयो । उहाँले एक रनमात्र बनाउन सक्नुभयो । पाँचौँ ओभरको पाँचौँ बलमा ६ रन बनाएर खेलिरहनुभएका हर्ष ठाकेर आउट हुनुभयो । कुशल मल्लले नवौँ ओभरको दोस्रो बलमा शुभ कंसाकारलाई बोल्ड गर्नुभयोे ।
उहाँले १२ बलमा दुई चौका र एक छक्काको मद्दतले १५ रन बनाउनुभयो । आसिफ शेख १०औँ ओभरको चौथो बलमा पभेलियन फर्किनुभयो । २६ बलमा चार चौकाको मद्दतले २३ रन बनाउनुभएका उहाँलाई अमरसिंह रौटेलाले रिजनबाट क्याच गराउनुभयो ।
मोहम्मद मोहसिन १४औँ ओभरको अन्तिम बलमा रन आउट हुनुभयो । उहाँ १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएर पभेलियन फर्किनुभयो । अरनिको यादव १५औँ ओभरको तेस्रो बलमा रनआउट हुनुभयो । उहाँले रन खाता पनि खोल्न पाउनुभएन । ६५ रन बनाएर खेलिरहनुभएका जिमि निसम पभेलियन फर्किनुभयो ।
२५ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्नुभएका उहाँलाई तान्विरले रिजनबाट क्याच गराउनुभयो । कुशलले ललितनारायण राजवंशीलाई १६औँ ओभरको दोस्रो बलमा रनको खाता पनि खोल्न नदिई हसन इशाखिलबाट क्याच गराउनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पा¥यो ।
चितवनका लागि कुशलले ७२, रवि बोपाराले ४४, हसन इशाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाउनुभयो । चौथो विकेटका लागि कुशल र रविले ११३ रनको साझेदारी गर्नुभयो । जनकपुरका लागि ललितनारायण राजवंशीले दुई तथा हर्ष ठाकेर, मोहम्मद मोहसिन र जिमी निसमले समान एक विकेट लिनुभयो ।
तेस्रो ओभरको चौथो बलमा ललितनारायण राजवंशीले विपिन रावललाई व्यक्तिगत तीन रनमा कप्तान अनिकुमार साहबाट क्याच गराउनुभयो । सातौँ ओभरको चौथो बलमा सन्तोष कार्की पभेलियन फर्किनुभयो । १२ बलमा एक छक्कासहित १४ रन बनाउनुभएका उहाँलाई मोहम्मद मोहसिनले बोल्ड गर्नुभयोे ।
आठौँ ओभरको तेस्रो बलमा हर्ष ठाकेरले हसन इशाखिललाई पभेलियनको बाटो देखाउनुभयो । १९ बलमा चार चौका र एक छक्काको मद्दतले २८ रन बनाउनुभएका उहाँ विकेटविकर लाहिरू मिलान्थाबाट स्ट्याम्पिङ हुनुभयो । १९औँ ओभरको चौथो बलमा अर्धशतक प्रहार गर्नुभएका कुशल मल्ल पभेलियन फर्किनुभयो ।
४१ बलमा सात चौका र तीन चौकाको मद्दतले ७२ रन बनाउनुभएका उहाँलाई जिमी निसमले अनिलबाट क्याच गराउनुभयो । अन्तिम ओभरको दोस्रो बलमा ४४ रन बनाएर खेलिरहनुभएका रवि बोपारालाई ललितले अनिलबाट क्याच गराउनुभयो । उहाँले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो ।




















