‘म प्रधानमन्त्रीबाट हिँडे देश हिँड्न छोडयो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो। अब म आएको छु, फेरि देश हिँड्छ।’: प्रधानमन्त्री ओली।

तेह्रथुम:= प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहुञ्जेल देश अघि बढ्ने तर हटेपछि देश अस्तव्यस्त हुने बताउनुभएकाे छ ।

तेह्रथुमको आठराई गाउँपालिका-४ इवा स्थित आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उहाँले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि नै देशमा विकास निर्माणका कामको गति राेकिने बताउनुभयाे ।

‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ। त्यसका लागि बजेट छुट्याएको थियो। जसमा अहिले लगभग सयवटा अस्पतालहरु चलिसके होलान्‚’ उनले भने, ‘म प्रधानमन्त्रीबाट हिँडे देश हिँड्न छोडयो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो। अब म आएको छु, फेरि देश हिँड्छ।’

उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको उल्लेख गरे। उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको पनि बताए।

‘यसपल्ट देशको अफ्ठ्यारो स्थितिलाई हेरेर देशका ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ‚’ उनले भने‚ ‘यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने संकल्प गरेको छ। मैले अघि बढाएका विकासका कामहरु आफू उभिएकै ठाउँबाट हरेकले देख्नसक्छ।’

प्रधानमन्त्री ओलीले देशभरिका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।