काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको छ । काठमाडौंसँग पराजित भएसँगै लुम्बिनी एनपिएल-२०२४ को प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । लुम्बिनी एक खेलअगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो ।
६ खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जित्दा पाँच खेलमा हार बेहोरेको छ । लुम्बिनीले अब अन्तिम खेल जिते पनि प्लेअफ पुग्ने सम्भावना छैन भने जितसँगै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना बढाएको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्ने छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो ।
काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।
काठमाडौंविरुद्ध लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाउनुभएको थियो । उहाँले २९ बलमा दुई चौका प्रहार गर्नुभएको थियो । उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १९ रन बनाउनुभयो भने सूर्य तामाङले अविजित रन जोड्नुभयो । लुम्बिनीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आठ रनमा पभेलियन फर्किनुभयो । यस्तै, ओपनर आशुतोष घिरैया चार, अर्जुन साउद तीन, टम मुरेस ६ र विवेक यादव दुई रनमा पभेलियन फर्किनुभयो । लुम्बिनीका साद बिन जफर ‘गोल्डेन डक’ हुनुभयो भने रेमोन सिमोन्ड्स पनि ‘डक’ हुनुभयो ।
लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौंका कप्तान करण केसीले चार विकेट लिनुभएको थियो । चार ओभर बलिङ गर्नुभएका करणले १६ रनमात्र खर्चिनुभयो । दीपेश कँडेलले तीन विकेट लिनुभयो । दिपेशले चार ओभर बलिङ गर्दा ६ रनमात्र खर्चिनुभयो । गेरहार्ड इरास्मसको नाममा दुई विकेट रहृयो भने राशिद खानले एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । सो क्रममा काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाउनुभएको थियो । उहाँले ४० बलमा एक चौका प्रहार गर्नुभयो ।
डान डाउथवेटले २४ बलमा दुई छक्कासहित २१ बनाउनुभयो भने प्रतीक श्रेष्ठले १४ बलमा दुई छक्कासहित २० र स्टेफन एस्किनाजीले १६ बलमा दुई चौकासहित १३ रन बनाउनुभएको थियो । यसबाहेक काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंविरुद्ध लुम्बिनीका साद बिन जफरले तीन विकेट लिनुभएको थियो । चार ओभर बलिङ गर्नुभएका जफरले २१ रन खर्चिनुभयो । रेमोन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट लिनुभयो भने सूर्य तामाङ र विवेक यादवको नाममा समान एक-एक विकेट रहृयो । करण प्लेयर अफ दि म्याच बन्नुभयो ।
जितसँगै चार अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । काठमाडौंले चार खेलबाट चार अंक जोडेको छ । प्रतियोगितामा छैटौँ खेल खेलेको लुम्बिनीको यो पाँचौँ हार हो ।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो ।




















