साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको अल नासर अन्तिम समयमा अल इत्तिहादसँग हार्यो।

एजेन्सी:= साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको अल नासर अन्तिम समयमा अल इत्तिहादसँग स्तब्ध भएको छ । इत्तिहादले नासरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जेदाहस्थित किङ अब्दुल्लाह स्पोटर््स सिटीमा रियल मड्रिडका पूर्वखेलाडी करिम बेन्जिमा र क्रिस्टियानो रोनाल्डोको खेल हेर्न कीर्तिमानी ५५ हजार १२० समर्थक उपस्थित थिए ।

खेलको ५५औँ मिनेटमा इत्तिहादका लागि बेन्जिमाले गोल गरेपछि नासर एक शून्यले पछि परेको थियो । ५७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याउनुभयो । खेलमा दुवैले एक/एक अंक बाँड्ने लगभग निश्चित भइसकेको थियो । तर, इन्जुरी समयको अन्त्यमा स्टेभन बर्गविनले गोल गरेपछि नासर अंकविहीन भएको हो ।

इत्तिहाद १३ खेलबाट ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । चौथो स्थानको नासरको २५ अंक छ । तेस्रो स्थानको अल काद्सियाको २८ अंक छ । एक खेल कम खेलेको अल हिलाल ३१ अंकसहित दोस्रो स्थानमा छ ।