काठमाडौं := नेपाल प्रिमियर लिग “एनपीएल” अन्तर्गतको आजको खेलमा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । यो कर्णालीको प्रतियोगितामा पहिलो जित हो । कर्णालीले अन्तिम बल बाँकी रहँदा ६ विकेटले जितेको हो ।
एक समय अन्तिम २ ओभरमा १० रन चाहिएको सहज अवस्थामा रहेको कर्णालीका लागि सोहेल तनवीरको १९ औं ओभरले कठिनाइ थपेको थियो । तनवीरले आफ्नो ओभरमा २ रन मात्र खर्च गरेपछि कर्णालीलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।
कर्णालीका लागि शिखर धवनले ४५ रन बनाए । चाडविक वाल्टनले ३०, देव खनालले २५ रन बनाए । चितवनका लागि कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रवि बोपाराले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रनको स्कोर बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक नटआउट ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए ।
यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए । जितसँगै कर्णाली याक्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।
दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ। तीन खेल खेलेको कर्णाली याक्स दुई अंकसहित चौथो स्थानमा छ ।
तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित पाँचौँ स्थानमा छ । तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी यालन्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अंक बटुल्न सकेका छैनन् ।




















