काठमाडौं := सहकारीको रकम अपचलन लगायतका कसुरमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्व-उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४६ दिनदेखि हिरासतमा हुनुहुन्छ । उहाँविरुद्ध कास्की, रुपन्देही, चितवन र काठमाडौं प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गत कात्तिक २ गते रविलाई रास्वपा केन्द्रीय कार्यालय शेषमतीबाट पक्राउ गरेको थियो । लगत्तै कास्की पुर्याइएका उहाँलाई पटक-पटक अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर मुद्दाको अनुन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । प्रहरीले रविविरुद्ध धेरै जिल्लामा उजुरी भएको, अभियोगहरू फरक-फरक रहेको तथा अनुसन्धान वस्तुनिष्ठ हुन जरुरी रहेको भन्दै समय लिएरै अनुसन्धान गरिरहेको छ । बिहीबार साँझ काठमाडौं ल्याइएका उहाँलाई काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुख्य आरोपमा अनुसन्धान गरिरहेको छ । सो सहकारीबाट रवि र उहाँका पाटर्नर जिबी राईले संयुक्त रूपमा दुई पटकसम्म ऋण लिएको पाइन्छ ।
सबै आरोप अस्वीकार
रास्वपाका सभापति लामिछानेलाई काठमाडौंमा ७४ प्रश्न सोधिएको छ । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न बिहीबार काठमाडौं ल्याइएका उहाँसँग शुक्रबार, आइतबार र सोमबार गरी ७४ प्रश्न सोधिएको हो । शुक्रबार र आइतबार गरी ६० प्रश्न सोधिएको उहाँलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सोमबार थप १४ प्रश्न सोधिएको हो ।
सहकारी ठगी सम्बन्धमा प्रहरीले नयाँ-नयाँ तथ्य र प्रमाण भेट्दै गए पनि रविले आफूविरुद्धका सबै आरोपलाई इन्कार गर्नुभएको छ । कास्की, रुपन्देही र काठमाडौंमा सरकारी वकिलसमक्ष गरेको बयानमा रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि संसदीय छानविनबाटै भएको, आफूले कतैबाट ऋण नलिएको, गोर्खा मिडियाको प्रबन्ध निर्देशकका रूपमा गरेका प्रशासनिक कामहरूबाट कसुर प्रमाणित नहुने लगायतका जिकिर रविले गर्नुभएको छ ।
सहकारीलाई रविकै हस्ताक्षर भएको चेकमार्फत ऋण भुक्तान गरेको प्रमाण प्रहरीले प्राप्त गरिसकेको छ । सो सम्बन्धमा रविले गोर्खा मिडियामा कार्यरत रहँदा खाली चेकमा हस्ताक्षर गरेर ड्रयरमा छाड्ने गरेकोमा कसैले बुझाएका हुनसक्ने जवाफ दिनुभएको छ । त्यस्तै, स्वर्णलक्ष्मी सहकारीबाट गाडी खरिद गर्न र ‘जेसुकैका लागि’ शीर्षकमा रवि र जिबीले संयुक्त रूपमा लिएको ऋण चुक्ता भइसकेको छैन ।
रविले गोर्खा मिडियाको कामका लागि सो कम्पनीको सञ्चालक समितिबाट निर्णय गरेर संस्थाले खरिद गरेको गाडीको ऋण तिर्न आफू जवाफदेही नरहेको बयान दिनुभएको छ । ‘उहाँले आफूविरुद्धका सबै आरोप र प्रमाणको खण्डन गर्नुभएको छ । आफ्नै हस्ताक्षरमा काटिएका चेकको पनि जवाफदेहिता बहन गर्दिनँ भन्नुभएको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
रविले सरकारी वकिलसमक्ष इन्कारी बयान दिए पनि मुद्दा दायर भएको अवस्थामा आफ्ना जिकिरहरूलाई वस्तुनिष्ठ प्रमाणबाट प्रमाणित गर्न सक्नुपर्ने छ । प्रहरीले रविविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको र अर्को हप्तासम्म मुद्दा दर्ता हुने जनाएको छ । ‘संगठित अपराधकै कसुरमा मुद्दा जाने सम्भावना छ’ प्रहरी स्रोतको दाबी छ ।
रास्वपा सभापति लामिछाने राजनीतिमा आउनुपूर्व सञ्चारकर्मी हुनुहुन्थ्यो । उहाँ प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई विभिन्न सहकारीको ठगीमा जोडिएका मुख्य आरोपी हुन् । हाल मलेसियामा रहेको दाबी गरिएका जिबीलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन




















