झापा := झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आईतवार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको ४ सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत, नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत र राप्रपाका नारायणप्रसाद निरौलाले २६ मत प्राप्त गर्नुभएको छ । जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत ल्याउनुभएको छ ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले)का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।