म आफैं मन्त्रीनै असुरक्षित छु, गोइतले पैसाको लागि धम्की दिइरहेको छ्: मन्त्री लेखी।

जनकपुर := मधेस प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै यतिखेर असुरक्षित भएको बताउनुभएको छ । गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले आफैँ पुष्टी गर्नुभएको हो ।

मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताउनु भयो । आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईं मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’ आर्थिक सहयोग नगरे देखाइदिने भन्दै धम्की आएको मन्त्री लेखीको भनाइ छ ।