काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारबाट काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भसंगै उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ।
प्रतियोगिता अघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको जानकारी दिए। नेपाली क्रिकेटमा नयाँ उचाइमा पुराउने क्यानको प्रयासमा सबैले सहयोग गरेको उनले बताए।
एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन्। त्यस्तै उनीहरुले टीमको प्रशिक्षण राम्रो भएको र टीम सेट भएको जनाएका छन्।
कार्यक्रममा एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरिएको छ। एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ। एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ भने भिआइपी सिटलाई बढाइएको छ।
अन्तिम समयमा जनकपुर बोल्ट्सका कप्तान परिवर्तन :
नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी आठ टोलीमध्ये जनकपुर बोल्ट्सले मात्र मार्की नरहेका खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ। बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेका छन्।
जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भूर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ।
त्यस्तै जनकपुरका मार्की खेलाडी भने आशिफ शेख छन्। जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए। उनले भने, “मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला।
आशिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो।” सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दावी गरेका छन्।




















